ओलीलाई बालेनको प्रश्न: पाँच वर्षअघि आफै प्रधानमन्त्री हुँदा मौन बस्नुको कारण के हो ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि फेरि प्रश्न उठाएका छन् । तीन वर्ष अगाडि नै सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर अहिले तातेको भन्दै शाहले ओलीमाथि प्रश्न गरेका हुन् । शाहले नदीतटको मापदण्ड २० मिटर कायम गर्ने यसअघिको फैसलामा प्रधानमन्त्री ओली मौन बस्नुको कारण सोधेका छन्।

आफू मेयर निर्वाचित नहुँदै २०७६ साल साउन २० गते सर्वोच्च अदालतमा न्यायाधीश आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले नदी तटको मापदण्ड २० मिटर कायम गर्न भनेको दाबी गर्दै मेयर बालेनले त्यतिबेला प्रधानमन्त्री ओली र उनको दल चुप लाग्नुको कारण सोधेका हुन्।

बुधबार उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर पहिले भ्याकेट दिन नजानुको कारण र अहिले त्यही फैसला गर्दा आएका अभिव्यक्तिहरूबारे शंका व्यक्त गरेका छन्।

उहिलै मरिन् सासू, अहिले आए आँसु। यो चरित्रले कसरी देश बिगार्दै छ भन्ने उदाहरण सर्वोच्चको फैसला र सरकारको दौडधुपले प्रस्ट पारेको शाहको भनाइ छ । 
फैसला मन नपरेमा पुनरावेदन (भ्याकेट) गर्ने अधिकार हुँदा त्यतिबेला कोही पनि पुनरावेदनमा नगएको  र यसले फैसलामा कसैको असहमति नरहेको पुष्टी हुने मेयर बालेनले बताएका छन्।

प्रतिक्रिया