बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद

झापा । स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ । 

जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । गैरकानूनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ । 

प्रहरीले आर्थिक वर्ष २०७८/७९ मा  ४ करोड ५ लाख ६ हजार १८१, आर्थिक वर्ष २०७९/८० मा ३ करोड ९८ लाख ३६ हजार ३६४ र  आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ७० लाख ४६ हजार ४८८ को भन्सार छलीका सामान बरामद गरेको हो । 

प्रवक्ता चन्दका अनुसार प्रहरीले तीन वर्षमा १ करोड ७८ लाख ९७ हजार ८ सय ४६ मूल्यका ४ हजार २ सय ८९ दशमलव ४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध काठका साथमा ३८ जना मानिस पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो । 

प्रहरीले आर्थिक वर्ष २०७८/७९ मा १ हजार २ सय ६८ क्यूबिक फिट, आर्थिक वर्ष २०७९/८० मा २ हजार ४ सय ७२ क्यूबिक फिट र आर्थिक वर्ष २०८०/८१ मा ५ सय ४९ दशमलव ४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो ।
रासस

प्रतिक्रिया