कृषि क्षेत्रमा लागत कम र उत्पादन धेरै हुने अवस्था सिर्जना गर्नुपर्छ: प्रकाशशरण महत

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा‍. प्रकाशशरण महतले कृषि क्षेत्रमा आश्रित जनसङ्ख्या न्यूनीकरणगरी लागत कम र उत्पादन धेरै हुने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् । 

नेपाल किसान महासङ्घ केन्द्रीय समितिको छैटौँ बैठकको सुभारम्भका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा उनले कृषि क्षेत्रमा आश्रित जनसङ्ख्याको तुलनामा अन्य क्षेत्रमा आश्रितको आयस्तर र जीवनशैली उच्च भएकाले त्यहीअनुसार कृषि क्षेत्रलाई सम्बोधन गर्नुपर्ने बताए । 

नेपालमा कुनै समय ९५ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेकामा अहिले ६० प्रतिशत मात्रै रहेको जानकारी दिँदै उनले उत्पादकत्व वृद्धि गर्न अझै केही प्रतिशत जनसङ्ख्यालाई कृषिमा निर्भरताबाट अन्य क्षेत्रमा प्रोत्साहित गरिनुपर्ने बताए । 

डा. महतले विदेशबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था नभएको र  सरकारले अनुदान दिएर प्रतिस्पर्धी बनाउन सक्नेगरी प्रोत्साहित गर्नुपर्ने बताए ।  उनले नेपाली उत्पादनलाई प्रोत्साहित गर्न विदेशबाट आउने पदार्थको भन्सार वृद्धि गर्न सकिन्छ भन्दै जापानले पनि आत्मनिर्भर हुन त्यही गरेको उल्लेख गरे । 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफू खेतीकिसानी गरेर आएको व्यक्ति भएको भन्दै मन्त्रालयमा रहेर कृषि क्षेत्रको उत्थानका लागि सक्दो प्रयास गर्ने बताए । कार्यक्रममा सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत विकास समितिका सभापति कुसुम थापा, नेपाली कांग्रेस कृषि तथा किसान विभागका प्रमुख उमेश श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया