सिरहावासीका समस्याबारे संसदमा आवाज उठाउँछु: अध्यक्ष दाहाल

सिरहा ।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहावासीका समस्याबारे संसदमा आवाज उठाउने बताएका छन् । मंगलबार गोलबजारका स्थानीयसँग कुराकानी गर्दै उनले खानेपानी, कृषि उपजको उचित बजार व्यवस्थापन र पूर्वाधार विकासको विषयमा संसदमा कुरा उठाउने बताएका छन् । 

सिरहाको उत्तरी क्षेत्रका जनताले खानेपानीको समस्याबाट अझै पार पाउन नसकेको भन्दै अध्यक्ष दाहालले आफू यहाँको जनप्रतिनिधि भएका बेलाका आयोजना अझै अधुरो भएकोमा चिन्ता व्यक्त गरे ।  अध्यक्ष दाहाल २०७० सालको संविधानसभाको निर्वाचनमा सिरहा क्षेत्र नम्वर ५ बाट निर्वाचित भएका थिए । 

अध्यक्ष दाहालले यहाँका किसानले उत्पादन गरेको आँपले बजारको समस्या झेलिरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आँप र तरकारीको बजार व्यवस्थापन र चिस्यान केन्द्र निर्माणका लागि आफूले पहल गर्ने बताए ।  

पार्टीको कोशी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक उदयपुरको बेलकामा सम्मन्न गरी फर्कने क्रममा अध्यक्ष दहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता हरिबोल गजुरेललगायतका नेताले गोलबजारमा मंगलबार कार्यकर्ता तथा स्थानीयसँग अन्तक्रिया गरेका थिए ।  
 

प्रतिक्रिया