मनसुन सुरु भएयता बाढीपहिरोमा २४ जनाको मृत्यु, २५ जना बेपत्ता

गृह मन्त्रालयले नेपालमा मनसुन सुरु भएयता हालसम्म बाढीपहिरोमा परेर २४ जनाको मृत्यु र २५ जना बेपत्ता भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको छ । नेपालमा जेठ ३० देखि मनसुन सुरु भएको हो । पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र पाँच बेपत्ता तथा १३ जना घाइते भएको मन्त्रालयअन्तर्गतको पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ । पहिरोबाट मृत्यु हुनेमा ११ पुरुष र चार महिला छन् ।  निरन्तर वर्षापछि आएको पहिरोबाट ४ सय ५४ जना परिवार प्रभावित भएको प्रतिकार्य शाखाको विवरणमा उल्लेख छ । यस्तै, बाढीबाट ९ जनाको मृत्यु र २० बेपत्ता भएका छन्। मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला  र पहिचान हुन नसकेका एक जना रहेको गृहको विवरणमा जनाइएको छ । बाढीपहिरोका कारण १ सय १२ घरपरिवार प्रभावित भएका छन् ।  बाढीबाट हालसम्म ४ करोड ६६ लाख ३० हजार र पहिरोबाट १३ लाख ४१ हजार पाँच सय बराबरको धनमाल नष्ट भएको छ । मुलुकभरका ७७ जिल्लामध्ये अहिलेसम्म संखुवासभामा बाढीपहिरो क्षति बढी रहेको छ । बाढीपहिरोका कारण संखुवासभामा तीनको मृत्यु र १९ बेपत्ता छन् । पाँचथरमा आएको बाढीमा परेर तीन जनाले ज्यान गुमाएका छन् भने तीनै जना बेपत्ता भएका छन । यसैविच  नेकपा एमालेका अध्यक्ष केपी ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आज सामाजिक सञ्जालमार्फत उक्त निर्देशन दिएका हुन । उनले वर्षायाममा आउने बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपप्रति उच्च सतर्कता अपनाउन, र राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न समेत सबैमा अनुरोध गरेका छन ।। 

<iframe width="654" height="480" src="https://www.youtube.com/embed/F4po6DxiWNE" title="मनसुन सुरु भएयता बाढीपहिरोमा २४ जनाको मृत्यु, २५ जना बेपत्ता" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>

प्रतिक्रिया