बाढीपहिरोका कारण देशभरका तीन वटा राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण देशभरका तीन वटा राजमार्ग अवरुद्ध भएका छन् । सडक विभागका अनुसार तीन वटा राजमार्ग पूर्णरुपमा ठप्प छन् भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । हाल मेची राजमार्गअन्तर्गत पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलामा आवातजावत पूर्ण रुपमा बन्द छ । यस्तै तमोर करिडोरअन्तर्गत पाँचथरकै माझिटार, हेवा खोलामा सडक अवरुद्ध भएको छ । यो सडकखण्ड चतरा–मुलघाट–सुभाङखोला हुँदै गएको छ । यसैगरी, कोशी राजमार्गअन्तर्गत संखुवाभाको हाइटारमा सडक अवरुद्ध हुँदा यातायात सञ्चालन प्रभावित भएको छ । अवरुद्ध सडक सञ्चालनका लागि प्रयास भइरहेको विभागले जनाएको छ । विभागले हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सञ्चालनमा आइसकेको पनि जनाएको छ । यो वर्ष मात्रै ७३ वटा सडकखण्ड अवरुद्ध भएका छन् । यसैबीच, मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा पानी परिरहेको छ । पछिल्लो तीन घन्टा सप्तरीको राजविराज र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती र यी नदीका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना छ । आज बिहानको मापन अनुसार यी नदीहरूको जलसतह सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ । त्यस्तै पूर्वी राप्ती, बबई नदी र यसका सहायक नदीहरूमा पनि जलसतह सामान्य बढ्ने आँकलन छ । महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनुपर, डडेलधुरा, बैतडी र आसपास भइ बहने केही ससाना नदीहरूको बहाब  उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम समेत रहेको छ । त्यस्तै, रसुवा, काभ्रेपलाञ्चोक, ललितपुर, नुवाकोट, गोरखा, लमजुङ, कास्की, पाल्पा, स्याङ्जा, डोटी र आसपास भइ बहने नदीहरूमा पनि बहाब बढ्न सक्ने महाशाखाले जनाएको छ ।

<iframe width="654" height="480" src="https://www.youtube.com/embed/2N_CW1an7y8" title="बाढीपहिरोका कारण देशभरका तीन वटा राजमार्ग अवरुद्ध" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>

प्रतिक्रिया