उपसभामुख हटाउने कुरामा रा.स्व.प.को आपत्ति, लोकतन्त्रका लागि मान्य नहुने चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने कुरा लोकतन्त्रका लागि मान्य नहुने बताएका छन्। मंगलबारको प्रतिनिधि सभाको बैठक सुरू हुनेबित्तिकै आकस्मिक समयमा बोलेका सांसद परियारले राजनीतिक पार्टीहरूबीच सल्लाह भएर उपसभामुखलाई पदबाट हटाउने कुरा लोकतन्त्रका लागि मान्य नहुने बताएका हुन् । उनले आजका सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए । 
उनले राजनीतिक दलबिच सल्लाह गरेर लोकतन्त्र मारिने काम हुँदै गएको भन्दै उनले कुनै परिषद्मा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य नहुने बताए । 

‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला स्मरण रहोस् तपाइहरू आफैले खनेको खाल्डोमा तपाइहरू पर्नुहुनेछ स्मरण रहोस्‚’ उनले भने‚‘के नेपाली लोकतन्त्र यति कमजोर हो । लोकतन्त्रको हुर्मत लिने हो ?’

उनले सङ्ख्या र सत्ता शक्तिको नाममा राज्य चलाउने हो भने जनताको सार्वभौम सत्ता अघि कोही पनि नटिक्ने बताए ।

संवैधानिक परिषदमा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा उससभामुखलाई पदबाट हटाउन दलहरू लागेको उनको भनाइ छ। ‘रास्वपा लोकतन्त्रका लागि सधैं लड्नेछ, एउटा मुद्दा गुमाउला,’ उनले भने।

लोकतन्त्रका लागि जनता सडकमा ओर्लिएर पार्टीहरूविरूद्ध आन्दोलन गर्ने विश्वास पनि रास्वपालाई रहेको उनले बताए।

सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा उपसभामुख रानामाथि आचरणको प्रश्न उठेकोले हटाउन प्रस्ताव दर्ता गर्ने विषयमा सत्तारूढ दलहरूबीच सहमति भएको थियो।

प्रतिक्रिया