बुद्ध एयरको एक विमानलाइ 'वाटर स्यालुट' दिएर गरियो विदाइ

काठमाडौँ । बुद्ध एयरले आन्तरिक गन्तव्यहरूमा उडान भर्दै आएको एउटा विमानलाई विदाई गरेको छ । नेपाली आकाशमा १६ वर्षदेखि आन्तरिक गन्तव्यहरूमा उडान भरिरहेको एटीआर–४२ विमानलाई बुद्ध एयरले बिदा गरेको हो । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहबीच सम्मानस्वरूप पानीको फोहोराले सलामी(वाटर स्यालुट) दिएर उक्त जहाजलाई बिदा गरिएको हो । 

'वाटर स्यालुट' जहाजलाई बुद्ध एयरको ह्यांगरमा लगिएको छ । अब यो विमानको दर्ता खारेजी हुनेछ । यसमा प्रयोग भएका काम लाग्ने उपकरण झिकेर खोक्रो ढाँचा नागरिक उड्डयन प्राधिकरणलाई अभ्यासका लागि दिइने छ।

४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको उक्त विमान बुद्ध एयरले सन् २००८ मा भित्र्याएको उसको पहिलो एटीआर विमान थियो ।  त्यति बेला ३० हजार हाराहारी साइकल विदेशमा उडिसकेको यो विमान खरिद गरेर नेपाल ल्याइएको थियो । 

 उडानमा एउटा टेकअफ र एउटा ल्यान्डिङलाई एक साइकल मानिन्छ । यो विमानको अझै १७ वटा साइकल बाँकी थियो । ७० हजार उडान साइकल पूरा भएपछि टर्बोप्रप एटीआर विमानको ल्यान्डिङ गियर, इन्जिन, ककपिटमा जडान भएका यन्त्र उपकरणबाहेक फ्युसलाज (विमानको मुख्य शरीर वा ढाँचा) लाई व्यावसायिक उडानमा प्रयोग गर्न नपाइने एटीआरको नियम छ ।
सोमबार १४ वटा आन्तरिक उडान भरेको यो जहाजले मंगलवार बिहान अन्तिम पर्वतीय उडान भरेको थियो । 
 बुद्ध नेपालमा सबैभन्दा धेरै एटीआर विमान उडान गर्ने वायुसेवा कम्पनी हो ।  

प्रतिक्रिया