इजरायली सेनाको आक्रमणमा ४० प्यालेस्टिनीको मृत्यु


काठमाडौं । प्यालेस्टाइन स्थित दक्षिणी गाजाको खान  युनिस क्षेत्रमा इजरायली आक्रमणमा परी ४० जना प्यालेस्टिनी नागरिकको  मृत्यु भएको छ । 

सोमबार राति भएको सो आक्रमणमा ६० जना भन्दा बढी घाइते भएका  हमासद्वारा सञ्चालित नागरिक सुरक्षा प्राधिकरणले जनाएको छ । 

इजरायली सेनाले आफ्नो विमानले हमास लडाकुको खान युनिसमा रहेको अपरेशन सेन्टरमा आक्रमण गरेको र सर्वसाधारणलाई  क्षति नपुगोस भनेर सावधानी अपनाइएको जनाएको छ ।  उता हमासले भने खान युनिस शहरको पश्चिममा रहेको मानवीय क्षेत्र अल–मावासीका लागि बनाइएका टेन्टलाई लक्षित गरी इजरायलबाट  तीनवटा आक्रमण गरिएको दाबी गरेको छ ।

इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै सेनाले खान युनिसको मानवीय क्षेत्रभित्र रहेको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा सक्रिय हमासका महत्वपूर्ण आतङ्ककारीमाथि आक्रमण गरेको बताएका छन् । गत वर्ष अक्टोबर ७ मा हमासका लडाकुले इजरायलभित्र पसेर १२ सय जना इजरायली नागरिकको क्रुर तरिकाले हत्या गरेका थिए भने २ सय ५० इजरायलीलाई अपहरण गरेका थिए । त्यसपछि इजरायलले हमास माथि आक्रमण शुरु गरेको हो । इजरायलको आक्रमणमा ४० हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 

प्रतिक्रिया