एसईई २०७९ को नतिजा प्रकाशनको अन्तिम तयारीमा
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको हो । तथ्याङ्कको शुद्धाशुद्धि परीक्षण गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीलाई तीव्र बनाइएको छ । उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भइरहेको कार्यालयले जनाएको छ । नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बोलाइएको छ । कुनै प्राविधिक समस्या नआए आजै साँझसम्म नतिजा सार्वजनिक हुने सम्भावना छ । कुनै प्राविधिक समस्या आएमा भने भोलि प्रकाशन गर्ने बोर्डको तयारी छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए । एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था मिलाइएको छ । बोर्डका अनुसार नतिजा सार्वजनिक भएपछि नेपाल टेलिकमको एसएमएस र आईभीआर १६००, बोर्डको वेबसाइट डब्लूडब्लूडब्लू डट एसईई डट जिओभी डट एनपी, डब्लूडब्लूडब्लू डट एनईबी डट जिओभी डट एनपी, नेपाल टेलिकमको डब्लूडब्लूडब्लू डट एसईई डट एनटीसी डट एनईटी डट एनपीलगायतबाट हेर्न सकिने छ ।।
प्रतिक्रिया