सामाजिक सञ्जालमा गाली गरेर राजनीतिक कोर्ष फेर्न खोजियो: प्रधानमन्त्री दाहाल

देश बनाउने एजेण्डा ल्याए नयाँलाई छाडन तयार

 

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएका छन । आज काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताएका हुन । प्रधानमन्त्री दाहालले सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको बताए । 
प्रधानमन्त्री दाहालले नयाँ इच्छाशक्ति सहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने देश दुर्घटनामा जाने बताए  । नयाँ पार्टीहरुप्रति लक्षित गर्दै पुराना पार्टीहरुको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरुलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको उनको भनाइ छ । अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरु नरहेको प्रधानमन्त्री दाहालको दाबी छ । उनले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याँई गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी गरे  । प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको पनि उल्लेख गरे । प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन, मन्त्रीपरिषद्मा छलफल गरी मन्त्रीपरिषद्कै समितिमा पठाइसकेको उल्लेख गर्दै केही दिनभित्र नै संसदमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया