जनताका अपेक्षाअनुसार काम गर्न नसक्नुको कारण आदर्श राजनीतिमा आएको ह्रास: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेर पनि जनताका अपेक्षाअनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रास भएको बताएका छन् ।

बिपी ट्रस्टद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भने, “ऐतिहासिक र गर्व गर्न लायक राजनीति उपलब्धि हासिल गरेर पनि जनताले अपेक्षा गरेअनुसार काम गर्न नसक्नुमा आदर्श राजनीतिमा आएको ह्रास हो भन्ने मलाई लागिरहेको छ ।

सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन । तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने पनि चिन्ता लागिरहेको छ ।”राष्ट्रपति पौडेलले सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन मात्र भएको तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने आफूलाई चिन्ता लागिरहेको बताए ।

सिद्धान्तमा सम्झौता गरेको भए बिपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउँदै उनले बिपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण गरेका छन् ।राष्ट्रपति पौडेलले भने, “सिद्धान्तप्रतिको सम्पूर्ण निष्ठा, नैतिक मूल्य, मान्यतासहितको आदर्श राजनीति तथा देश र जनताप्रतिको समर्पण बिपीका विशेषता हुन् जुन हाम्रा लागि सधैँ प्रेरणाका रुपमा रहिरहनेछ ।

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन बिपीले अघि सार्नुभएको कल्याणकारी राज्यको अवधारणा सिद्धान्त, मूल्य मान्यता र उच्च नैतिक आर्दश राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट बताए ।

राष्ट्रपति पौडेलले भने, “उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरण र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवादको सिद्धान्तको माध्यमबाटै १५ वर्षभित्रै सबै नेपाली परिवारलाई मध्यम वर्गीय हैसियतको बनाउन सकिने बिपीको व्यवहारिक र स्पष्ट ठोस निर्णय भएको हो । बिपीको त्यो दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ भन्ने मलाइ लाग्दछ ।”

स्वतन्त्रतालाई मानिसको अविच्छिन्न अधिकारका रुपमा स्थापित गरेर सामाजिक न्यायका आधारमा लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने बिपीको  दृढ मान्यता रहेको स्मरण गर्दै राष्ट्रपतिले भने, “राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उनको धारणालाई विभिन्न कालखण्डको आवश्यकताअनुसार समयसापेक्ष रूपमा ग्रहण गर्दै आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौँ ।

कार्यक्रममा ‘जननायक बिपी कोइराला स्मृति ट्रस्ट’ (बीपी ट्रस्ट)द्वारा हरेक वर्ष प्रदान गरी साहित्य साधनामा आफ्नो जीवन अर्पण गर्नुभएका साहित्यकार कवि द्वारिका श्रेष्ठलाई एक लाख एक हजार र बिपीको आदर्श, मूल्य, मान्यताप्रति समर्पित प्रजातन्त्रका सेनानी भोजराज भण्डारीलाई एकाउन्न हजार राशिको पुरस्कार प्रदान गरेको हो ।

रासस

प्रतिक्रिया