कारागार चलान भएको एकदिन नबित्दै रिहा भए कांग्रेस लुम्बिनी सांसद के.सी.

काठमाडौं । किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् ।रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसीलाई ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भइ अदालतले जेल चलान गर्न आदेश दिएको थियो । अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। तर केसीले सजाय भुक्तान गरेका थिएनन् । लामो समयदेखि प्रहरीको फरार सूचीमा भए पनि उनी पक्राउ परेका थिएनन् ।

सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका थिए । उनलाई आइतबार नै कारागार चलान गरिएको थियो । तर, सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएका छन् ।सांसद केसी कारागार चलान भएको एकदिन नबित्दै रिहा भएका छन् ।  

उनी फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन्।

२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सम्बन्धविच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उनी दोषी ठहर भएका थिए ।

प्रतिक्रिया