दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक्नुपर्छ: गगन थापा

विश्वविद्यालय विग्रिनुको दोष दलहरुले लिनुपर्ने भनाई

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई स्थापित गर्नुपर्ने बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन । दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने महामन्त्री थापाको भनाइ छ । 
महामन्त्री थापाले कुनैपनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्नेकुरा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरुले लिनुपर्ने बताए । उच्च प्राथमिकतामा राखेर ससदमा तत्काल, संघीय शिक्षा ऐन ल्याउन महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण समेत गराए । सरकारले विद्यालय शिक्षामा आएको संकटलाई बुझ्न नसकेको उनको गुनासो थियो । महामन्त्री थापाले सरकारले बजेटमार्फत विद्यालय पूर्वाधारमा छ्ट्याएको रकम कम भएको गुनासो पनि गरे ।

प्रतिक्रिया