मुलुकमा स्थिरता कायम गर्न कांग्रेस–एमाले गठबन्धन भएको हो: महत

 डडेल्धुरा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठूला दलबीच गठबन्धन भएको बताएका छन् ।

आज नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उनले भने मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमालेबीच सहकार्य भएको उल्लेख गरेका छन् ।

“पछिल्लो समय पटक–पटक सत्ता परिवर्तन भए पनि विकासले गति लिन नसकेपछि संसद्का दुई ठूला दलबीच सहकार्य भएको हो ।

यसबाट मुलुकमा स्थिरता कायम हुनुका साथै जनतामा आशा उब्जिएको छ”, प्रवक्ता महतले भने, “अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा उभिएका हुन् ।” उनले कांग्रेस–एमालेको गठबन्धन सरकारले मुलुकलाई स्थिरतातर्फ लैजाने दाबी गरेका छन् ।

नयाँ सरकार गठन पछि विस्तारै मुलुकको आर्थिक गतिविधि चलयायमान हुँदै गएको प्रवक्ता महतले बताए । सरकारको न्यूनतम साझा कार्यक्रम यथाशीघ्र प्रकाशित गर्ने उनले भने ।

पूर्वअर्थमन्त्री महतले वर्तमान सरकार जनताका सरोकारका विषयवस्तु र सुशासन प्रत्याभूत गराउनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने नेपाली कांग्रेसले २०८४ को निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागेको उल्लेख गरेका छन् ।प्रवक्ता महतले एक सय ११औँ बिपी जयन्तीका अवसरमा डडेल्धुरामा आयोजित ‘मुलुकको समृद्धिमा युवाको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रमको आजै उद्घाटन गर्नुभएको छ ।

उक्त कार्यक्रममा पश्चिम सेती र पञ्चेश्वर परियोजना निर्माण गर्न सरकार लागिपरेको उल्लेख गर्दै यी परियोजना निर्माणले सुदूरपश्चिममा रोजगारीका अवसर सिर्जना गर्ने बताएका छन् ।

रासस
 

प्रतिक्रिया