राजदुत नियुक्तिलाई समावेशी बनाउने परराष्ट्रमन्त्री राणाको प्रतिवद्धता

काठमाडौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदुत नियुक्तिलाई समावेशी बनाइने प्रतिवद्धता जनाएकी छिन । आजको संसदीय सुनुवाई समितिको बैठकमा उनले आगामी दिनमा समावेशी बनाउने गरी सरकारले सिफारिस गर्ने प्रतिवद्धता जनाएकी हुन । परराष्ट्रमन्त्री राणाले आफूले पनि हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महशुस गरेको स्वीकार गरिन । 
परराष्ट्रमन्त्री राणाले सरकारले गरेका कामहरुमा समितिले सुझाव दिएपछि नै सरकारले सच्चिने अवसर पाउने बताइन । राजदुत सिफारिसका लागि आफूले मुस्लिम र दलित समुदायको प्रतिनिधित्व खोजेको भएपनि सोअनुसार नपाएको  उनको स्वीकारोक्ति थियो । कुनैपनि ठाउँमा निर्णायक पदमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्ने र निश्चित सहभागिता गराउनैपर्ने बाध्यकारी कानून बनाउनुपर्ने सुझाव समेत मन्त्री राणाको थियो । हरेक सरकारी प्रतिनिधिमण्डलमा एक भन्दा धेरै हुने बित्तिकै एक जना महिलाको उपस्थिति अनिवार्य राख्नैपर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको पनि उनले जानकारी दिइन । मन्त्री राणाले देशमा असमानता, असमावेशिताहरु कायम रहेको भन्दै यसलाई हटाएर लैजान सरकार प्रतिवद्ध रहेको उल्लेख गरिन । नेपालको कुटनीति समय सापेक्ष बनाउन पहल गरिरहेको पनि उनको भनाइ थियो ।। 
 

प्रतिक्रिया