रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

 बेइजिङ । चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ । नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको हो ।

अभ्यासको उद्देश्य चिनीयाँ तथा रूसी सेनाबीचको रणनीतिक सहयोगलाई मझबुत बनाई  सुरक्षा खतरासँग संयुक्त रूपमा सामना गर्ने उनीहरूको क्षमता बढाउनु रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

दुवै पक्षले संयुक्त समुद्री गस्तीका लागि ‘प्रशान्त महासागरको समुद्री क्षेत्रमा नौसेना पठाउने भएको छ  भने चीनले रूसको ओसन–२०२४ रणनीतिक अभ्यासमा पनि भाग लिने भएको छ ।यस अघि जुलाईमा, दुई देशले चीनको गुआङ्गडोङ प्रान्तस्थित झानजियाङ सहर वरपरको पानी र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए ।

सन् २०२२ मा मस्कोले युक्रेनमा आक्रमण गर्नुअघि उनीहरूले सीमा विहिन साझेदारीको घोषणा गरेका थिए । गत महिना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा चिनियाँ प्रधानमन्त्री ली किआङसँगको भेटमा रूसको चीनसँगको आर्थिक र व्यापारिक सम्बन्ध ‘फलदायी’ भएको बताएका छन् ।  

प्रतिक्रिया