प्रधानमन्त्री एवं कुलपतिको कार्यक्षमतामाथि पटक–पटक प्रश्न उठ्न थाल्यो: सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा परीक्षा पठन पाठन ठप्प भएको भन्दै आक्रोश पोखेकी छिन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा उनले कृषि तथा वनविज्ञान विश्वविद्यालयको परीक्षा ११ दिन बित्दा पनि नभएको भन्दै यस्तो टिप्पणी गरेकी हुन्। उनले विश्वविद्यालय दलहरूका पार्टी प्यालेसजस्तो भएको टिप्पणी गरेकी छन् । 

परीक्षा नहुँदा कृषि, वन र भेटेनरीमा स्नातक तहका ११ सय विद्यार्थी रोकिन पुगेको उनले उल्लेख गरिन् । दलका भातृसंगठनको अवरोधका कारण परीक्षा रोकिनु आपत्तिजनक रहेको उनले बताइन् । चार वर्षमा सक्ने व्याचलर सक्न कति वर्ष लाग्ने हो भन्दै उनले प्रश्न समेत गरिन् ।

“विश्वविद्याय पठनपाठनको क्षेत्र कम र पार्टीहरूको पार्टी प्यालेस बढी हुन थालेको छ,” उनले भनिन्,  “एउटा प्रधानमन्त्रीको, अर्को गृहमन्त्रीको पार्टी । पार्टीको लडाइँमा पढ्छु भन्ने विद्यार्थीले जाँच पनि दिन नपाउने ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएको विषयमा उनले प्रधानमन्त्री एवं कुलपतिको कार्यक्षमतामाथि प्रश्न पनि गरिन् । “अन्तिम समयमा आएर कार्यव्यस्तता देखाउने, कार्यव्यस्तता मिलाउन नसक्ने कस्तो हो ? कुलपतिको कार्यक्षमतामाथि पटक–पटक प्रश्न उठ्न थाल्यो,” उनले भनिन् ।

कुनै पनि बहानामा विद्यार्थीको जीवनमाथि खेलबाड नगर्न उनले खबरदारी गरिन् ।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार हुने भनिएको दीक्षान्त समारोह रोकिएकोमा पनि प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको आरोप लगाइन् ।
 

प्रतिक्रिया