नेपाली राजनीतिमा सदैव अमर रहने नाम बी.पी.

जगदम्बा अधिकारी 
विश्वेश्वरप्रसाद कोइराला(बी.पी.)को  नाम विसं २००३ सालदेखिको नेपाली राजनीतिमा एउटा समाजलाई तरङ्गित पारिरहने नाम थियो र अझै छ ।

आज पनि नेपालको राजनीतिको मियो सिद्धान्तको रुपमा या त बी.पी.को सिद्धान्त या त उहाँको सिद्धान्तको विपरीत सिद्धान्त(थेसिस एन्टिथेसिस)मा चलिरहेको छ । धेरैजसो नेपाली नेताहरुको,चाहे उहाँले स्थापना गरेको नेपाली कांग्रेस होस् या त्यसको विकल्पमा गठन गरिएका दलहरु हुन्, तिनका नेताहरुले आजको समसामयिक नेताहरु मध्ये सम्मानपूर्वक नाम लिएका नेताहरुमा बी.पी.नै पर्नुहुन्छ भन्ने विभिन्न नेताहरुको अन्तर्वार्ता र  जीवनीले देखाउँछ । त्यस्ता अपूर्व क्षमता र साहसका प्रतिमूर्ति अनि सिद्धान्तकार नेता नेपाली माटोको उपज हुनुहुन्थ्यो भन्दा पनि गर्वलाग्छ । 

म जस्ता धेरै युवाहरु उच्च अध्ययनका लागि विदेशिएका हौँ । तर नेपालको माया मुटुभरी राखेका छौँ र प्रत्येक क्षण नेपाली माटोको माया यसरी  जमेको पाउँछौँ कि सायद बी.पीले भन्ने गर्नुभएको राष्ट्रियता त्यही होला । उहाँ भन्नुहुन्थ्यो—राष्ट्रियता भनेको माटो ढुङ्गो पहाड नदी जङ्गलमात्र होइनन्, जनता हुन् । अर्थात् जहाँ नेपाली जनता पुगेका छन् , त्यहाँ नेपाली राष्ट्रियता स्वतः पुगेको हुन्छ । त्यसको उदाहरण हो, नेपाली संस्कृतिले विश्वभर विस्तारित हुने मौका पाउनू ।

अहिले संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया ,बेलायतजस्ता देशहरुले नेपाली साँस्कृतिक चाडहरुमा बधाई तथा शुभकामना दिन्छन् र हामी पनि उनीहरुको विविधीकृत संस्कृतिको सम्मान गर्छौँ र उनीहरुसँगै रमाउँछौँ । विश्व बन्धुत्वको आधारमा समानता, सम्मान र अस्तित्वको खोजीका बारेमा बीपीले नेपाली राजनीतिमा नयाँ संस्कृतिको जुन वीजारोपण गर्नु भएको थियो , आज पनि त्यसले पुष्पित, पल्लवित हुने मौका पाएको छ । बी.पी.ले २०१६सालमा संयुक्त राष्ट्रसंघमा दिनु भएको औपचारिक वक्तव्य आज पनि नेपाल चीन सम्बन्ध र साना गरिब राज्यहरुको सम्बन्धमा कोसेढुङ्गा मानिँदो रहेछ । 

इस्वी सन् १९५९मा नै बी.पी.ले मूल देश चीन विनाको राष्ट्रसंघ अपूरो भन्नु भएको थियो जवकि त्यो बेलामा शक्ति राष्ट्रहरु अमेरिका,रुस,बेलायत र फ्रान्सले स्वीकार गरेको गणतन्त्र चीनको प्रतिनिधित्व फर्मोसा अर्थात् आजको ताइवानले गरेको थियो । भरी सभामा विना हिचकिचाहट बीपीले मूलभूमि चीनको पक्षमा बोल्दा सभामा चुपचाप सुन्नेमा ती देशहरु नै बढी थिए जो मुख्यभूमि चीनको विपक्षमा थिए ।

तर एउटा सानो तर स्वतन्त्र देशका निर्वाचित प्रधानमन्त्रीका हैसियतले बी.पी.ले बोलेको कुरालाई सायद अमेरिकाले मन पराएन होला किनभने त्यसपछि बीपीलाई राजाले सैनिक कु मार्फत् हटाउँदा अमेरिकी सरकारले त्यति धेरै चासो देखाएन रे र उल्टै महाराज महेन्द्रलाई राजकीय भ्रमणमा बोलाएको थियो रे । बी.पी.ले सन् १९५९मो बोलेको कुराले सन् १९७१मा सार्थकता पायो र आज ताइवान एउटा अलमलको देश या चिनियाँ अधीनस्थ स्वतन्त्र देशको रुपमा देखिन्छ । चाइनिज ताइपेइको रुपमा मान्यता प्राप्त छ । 

एसियामा बीपीको महत्व र क्षमता यसरी विस्तारित हुँदै थियो कि त्यति सानो देशको नेता भएर पनि विश्वमञ्चमा निर्भीकताका साथ निष्पक्षताका आधारमा नेपाली पक्षमा बोल्ने, गरिब देशहरुका पक्षमा बोल्ने र समाजवादको नयाँ परिभाषा समेत दिने ल्याकत थियो । बीपीको भाषामा समाजवादको परिभाषा थियो—साम्यवादको सिद्धान्तमा आवधिक निर्वाचन र मानवअधिकारको प्रत्याभूति हुँदा त्यो प्रजातन्त्रमा समाजवाद(प्रजातान्त्रिक) हुन्छ भने प्रजातन्त्रमा आवधिक निर्वाचन र मानव अधिकार हटाउने बित्तिकै त्यो साम्यवादमा परिणत हुन्छ । अनि बी.पी.को सिद्धान्तमा समाजवाद भनेको राजस्वमा वृद्धि गरी, हुनेसँग करको असुली बढाई, गरिबहरुलाई कमाएको पुँजीको समान वितरण गर्नु नै थियो ।  आज पनि त्यसको विकल्पमा अर्को परिभाषा आएजस्तो मैले थाहा पाएकी छैन । 

हामी नेपाली जहाँ बसौँ,नेपालको मायाले केही न केही गरिरहेका हुन्छौँ जसको पृष्ठभूमिमा बीपीको प्रजातन्त्रको सिद्धान्त हुन्छ, समानताको सिद्धान्तको आधारमा रचिएको प्रजातान्त्रिक समाजवाद हुन्छ । जसलाई अमेरिकीहरुले केन्द्रबाट देब्रे मान्छन् र अमेरिकी राजनीतिमा डेमोक्र्याटिक पार्टी नेपालको नेपाली कांग्रेस र एमालेसँग सैद्धान्तिक आधार मिल्छ । 

बी.पी.लाई हामीले किन संझन्छौं भनेर म घोत्लिन्छु कहिलकार्हीँ,तर एउटै उत्तर मेरो मनमा आउँछ , अनवरत प्रजातन्त्रको पक्षमा लाग्नु र विश्वका सबै देशहरु समान हैसियतका हुन् भनेर गरिब देशहरुको  पक्षमा खुलेर बोल्ने राजनेता आज पनि विश्वमा कोही छैनन् । 

सायद त्यही भएर होला, नेपालले अनेक विरोधका सामना गर्दै युक्रेनका पक्षमा बोलेको हो र हिजोका दिनमा इजरायललाई राजदूतावास बनाउन दिने निष्पक्ष राजनीति गरेको थियो जवकि भारतले इजरायललाई मान्यता दिएको थिएन तेलको लोभले । साँच्चै भन्ने हो भने असंंलग्नताको सिद्धान्तको सुरुवात गर्ने बीपी हुनुहुन्थ्यो जसले चीनसँगको १४ सय किलोमिटरको सीमा समस्यालाई समाधान गर्ने सुरुवात गर्दै सगरमाथा सम्बन्धमा उठेको विवाद हल गरी पानी ढलोका आधारमा सीमा निर्धारण गरिदिनु भयो र आज सगरमाथा नेपालको मात्र बनेको छ । उत्तर मोहडा चीनको र दक्षिणी मोहडा नेपालको भनेपछि संसारको सबैभन्दा अग्लो चुचुरो नेपालको बनेको थियो । 

आज बी.पी.को १११ औँ जन्म जयन्ती । प्रजातान्त्रिक समाजवादका नेपाली प्रणेता बीपीले भौतिकरुपमा हामीलाई छोडेर  जानु भएको पनि ४२ वर्ष भयो  तर पनि आजसम्मको राजनीतिमा केन्द्रीय भूमिका बीपी नै हुनुहुन्छ, त्यसको कारण हो उहाँले स्थापना गरेको पार्टी नै नेपालको प्रजातन्त्रका पक्षमा बोल्ने, संघर्ष गर्ने र सधैँ प्रजातन्त्रका लागि समर्पित दलको रुपमा पहिचान बनाएको छ । अहिले केही विवादहरु होलान्, तर प्रजातन्त्रको पर्याय बनेको दलले आफ्ना कमी कमजोरीहरुको समीक्षा गरी बीपीको सिद्धान्तलाई सामयिकरुपमा परिमार्जित गरी शासनको स्वरुप बदल्न सक्नुपर्छ जसले मिश्रित अर्थतन्त्रको पक्षमा समानताको नारा घन्काइरहोस् । 

बी.पी.प्रति श्रद्धा सुमन अर्पित गर्दै उहाँको सिद्धान्तको अमरताको कामना गर्दछु । 

(नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य तथा हाल यु .एस. ए. —नेपाल पोलिसी रिसर्च सेन्टरको अध्यक्ष, संयुक्त राज्य अमेरिका, हाल वासिङ्टन राज्य, सियाटल सहर, स्थायी—गोलन्जोर गाउँपालिका—३, ग्वाल्टार, सिन्धुली )
 

प्रतिक्रिया