बी.पी.को महाप्रस्थान, जीवनभर जोखिमपूर्ण यात्राको सम्झना, अरिंगालको गोलामा ढुङ्गा हान्ने त्यो अनुपम साहस

जीवन त अनुभवहरुको सँगालो नै हो । एउटा मानिसले विभिन्न समयसँगै आफूलाई चाहेर पनि, नचाहेरै पनि गुजारेकै हुन्छ । फरक यत्ति हो, कुनै अनुभवले सम्झँदा पनि आह्लादित होइन्छ त कुनै सम्झँदा पनि मन त्यसै अमिलो हुन्छ र तत्काल प्रतिशोधका लागि उठौँ भन्ने भावना जागृत हुन्छ । संसारमा हुने धेरै युद्ध र विवादका पछिल्तिर कुनै न कुनै त्यस्तो कारण हुन्छ जसले प्रतिशोधको झिल्कोलाई राँको बन्ने मौका प्रदान गरेको हुन्छ । तर कुनै अनुभव भने जीवनभरका लागि साँच्चै स्मरणीय हुन्छन् र त्यही अतीतका भरमा वर्तमानमा बाँच्ने र भविष्यको अझै आशा मरेको हुँदैन । जीवनका आरोह —अवरोह आफैँ निर्मित हुन्छन् , ती आफैँले निर्माण गरेका हुन्छन् । जन्मँदै पनि कति समस्या आनुवंशिकरुपमा  हस्तान्तरित हुँदै आएका हुन्छन् भने कति समस्या आफैँ समाधानको रुप लिएर खडा हुन्छन् ।

तर ती कसरी कारण बन्छन् भन्नेचाहिँ भवितव्य भने पनि हुन्छ या त भाग्यको नाममा छोडे पनि हुन्छ । यसरी अचानक अचानक ती घटना घट्छन् कि त्यसले दिने परिणाम भने जीवनभरका लागि कुनै स्मरणीय हुन्छन्, खुसी प्रदान गर्छन् त कुनै परिणामले जीवनलाई हेर्ने दृष्टिकोणलाई नै बदलेर नयाँ बाटोको आविष्कार गराउँछन् । 

आज पनि मेरो जेहेनमा बीपी अर्थात् विश्वेश्वरप्रसाद कोइरालाको शव यात्राको दृश्य झल्झली आइरहेको छ ४० वर्षअघिको । लाखौँ मानिसहरु बीपीको शव राखिएको ट्रकको पछि पछि रुँदै कराउँदै हिँडिरहेका थिए । ती कति आस्थाका कारणले हिँड्दै थिए, कति यस्तो असाधारण क्षमताको मानिस यो देशमा पनि जन्मेको थियो र आज उसको परमधाम गमन भयो भन्ने मुलुकको क्षतिप्रति रुँदै थिए त कति अब प्रजातन्त्रको दियो कसले बाल्ला भनेर निराशा व्यक्त गर्दै थिए । तर लाखौँ नेपालीहरु बाटामा निस्केर बीर बीपी अमर रहून्, प्रजातन्त्र ल्याउँछौँ ल्याउँछौँ भन्दै नारा लगाउँदै पनि थिए । सकेसम्म नाराको रुपमा जुलुसको प्रवन्ध गरिएको थिएन र पनि युवाहरुमा स्वतः स्फूर्त बीपीप्रतिको आस्था देखिएको थियो ।  

बीपीको अन्तिम अवस्था भएकाले नेपाल ल्याइएको थियो सायद अचेतावस्थामा नै । उहाँले भन्नु भएको रहेछ, मेरो मृत्यु नेपालमा नै होस् । अब उहाँको भौतिक देहको अन्तिम अवस्था भएको ठानेर चिकित्सकहरुले विदा दिएका रहेछन् र बीपीलाई नेपाल ल्याइएको थियो । हवाइजहाजबाट उहाँलाई एम्बुलेन्समा राखेर सिधै चाबहिलको निवासमा ल्याइयो र साँझ सवा ७ बजे उहाँको देहावसान भएको दुःखद समाचार संसारले सुन्न बाध्य भयो । बीपीको अन्तिम अवस्थाको समाचार र आगमनको खबर नेपालभर फैलिएको थियो जवकि अहिलेजस्तो सञ्चारको सहजता त्यो बेलामा थिएन । जब गिरिजाबाबु(गिरिजा प्रसाद कोइराला) ले निबासको बार्दलीबाट दुःखद समाचारको जानकारी दिँदासम्ममा नै हजारौँ मानिसहरु बीपी निबासमा जम्मा भइसकेका थिए र सबैको आँखामा आँसु छचल्किएको थियो ।

जब त्यो दुःखद समाचार सुनियो, त्यहाँ एकाएक रुवाबासी सुरु भयो । त्यो आस्थाप्रतिको माया थियो जुन आँखाको बाटो पानी भएर बाहिर आयो । अनि भोलि विहानदेखि श्रद्धाञ्जलि र शवयात्रा गर्ने भएकाले अहिललाई सबैजना जानुहोस् भन्ने भएपछि हामीहरु अँध्यारो हुन लागेको साउनको रातमा नेपालको भविष्य अन्धकार देख्दै आयौँ आफ्ना आफ्ना बासस्थानमा । 

भोलिपल्ट बिहानै हजारौँ मानिसहरुको भीड लाग्न थाल्यो, तर आएका सबैलाई सकेसम्म बीपीको अन्तिम दर्शन गर्नका लागि लाम लगाएर राखिएको थियो । हामी विहानै पुगेकाले अन्तिम श्रद्धाञ्जलि उहाँको पार्थिव शरीरमा दिन भ्यायौँ । तर पछि धेरै ठूलो भीड जम्मा हुन थालेको थियो । त्यही बिचमा बीपीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिनका लागि बाहिर जिल्लाबाट पनि मानिसहरु आउन चाहन्थे तर बर्खाको बेला थियो अनि सरकार चाहन्थ्यो बीपीप्रति गरिने सम्मानले पञ्चायती व्यवस्थाको विपक्षमा जनमत बन्ने छ र सायद तत्कालीन प्रशासनले बीपीको शवयात्रा काठमाडौँ सहर नघुमोस् भन्ने थियो होला किनभने मैले जान्दा एकजना क्रान्तिकारी र विपक्षी नेताको त्यत्रो ठूलो सम्मान जुन नेपाली जनताले देखाए, त्यो अपूर्व थियो, अद्वितीय थियो र एकजना प्रतिबन्धित नेताका लागि जनताले देखाएको त्यो अप्रतिभ सम्मान अतुल्य थियो । बाटा –बाटामा उहाँको विदाइका लागि लाखौँ मानिसहरु उभिएका थिए अश्रुपुरित नयन लिएर भने सडकमा उहाँका पछिपछि लाग्ने लाखौँ थिए ।

नेपाल विद्यार्थी सङ्घले सुरक्षाको प्रवन्ध गरेको थियो । सहरको मुख्य –मुख्य भागहुँदै जब खास सहरभित्र शवयात्रा प्रवेश ग¥यो, माथि छतबाट अबिर, फूल, अक्षता र गर्मी भयो होला बीपीलाई भनेर र शवयात्रामा हिँडेका हामीहरुका लागि माथिबाट शुद्ध पानीको वर्षा गरिएको थियो । बृृद्धहरु रुँदै बीपीको शवमा फूलमाला चढाउन लालायित देखिन्थे । मैले सम्झेसम्म बीपीको पार्थिव शरीर राखेका ट्रकमा गणेशमानजी (गणेशमान सिंह), किसुनजी (कृष्ण प्रसाद भट्टराई) गिरिजाबाबु, शैलजा दिदी (शैलजा आचार्य), बीपी पुत्रहरु प्रकाश (प्रकाश कोइराला), श्रीहर्ष र शशाङ्कसहित हुनुहुन्थ्यो ।

बीपीलाई राखिएको ट्रकलाई स्वयम्सेवकहरुले हाते साङ्लोले घेरेका थिए । त्यस्तो भीड पनि आफैँमा एउटा कोलाहल लिएर अनुशासित तरिकाले हिँडिरहेको थियो । शव यात्राका आयोजकहरु यसकुरामा धेरै सतर्क थिए कि भीडले लगाउने कुनै पनि उत्तेजक नाराका कारणले प्रहरीले कुनै व्यवधान नपारोस् किनभने निश्चय नै प्रहरीहरुको ठुलो सङ्ख्यो शवयात्राको अगाडि र पछाडि तैनाथ थियो । डराउनु पर्ने कारण के थियो भने बिहानै राजा वीरेन्द्रले अस्वाभाविक तरिकाले शोक सन्देश प्रवाह गरेका थिए । भनेका थिए—जुनसुकै नेपालीको मृत्यु हुँदा पनि आफूलाई दुःख लाग्ने भएकाले दुःख व्यक्त गरेको जस्तो लाग्छ ।

तर भाषामा पूर्व प्रधानमन्त्री पनि भनिएको थिएन अनि २००७सालको क्रान्ति नायकप्रति सम्मान व्यक्त गरिएको थिएन जसले राणाबाट धपाइएको राज परिवारलाई नेपालमा स्थापना गरेको थियो र नेपालको इतिहासमा जनताबाट भएको पहिलो आम निर्वाचनमा दुई तिहाईको मत ल्याएर नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेको थियो । आयोजकहरुले शवयात्रालाई शान्तिपूर्वका सम्पन्न गर्ने दृष्टिकोण भए पनि एकाबिहानै राजाबाट गरिएको अपमानजनक व्यवहारबाट क्षुब्ध कार्यकर्ता र आम जनसमुदायको रोष सडकमा पोखिने सम्भावना थियो तर पनि स्वयम् सेवकहरुले शोकको बेलामा उत्तेजना नदेखियोस् भनेर चनाखो व्यवहार देखाएका थिए । 

म पनि लाखौँ शोकमग्न मलामीसँग एकाकार भएको थिएँ र नेपालको प्रजातन्त्रको मियो ढलेकोमा आफैँमा नेपालको भविष्य कस्तो होला, नेपाली प्रजातन्त्रको संघर्षले कुन गति लेला भन्ने सोच्नु स्वाभाविकै थियो तर बीपीले आफूपछि सक्षम नेतृत्व छोड्नु भएको थियो गणेशमानजी, किसुनजी र गिरिजाबाबुको । गणेशमानजी सर्वमान्य नेता, किसुनजी नेपाली कांग्रेसको कार्यबाहक अध्यक्ष र गिरिजाबाबु पार्टीको महामन्त्रीको रुपमा नेपाली काङ्ग्रेसले मान्दै  नै आएको थियो २०४८सालसम्म जबसम्म महाधिवेशनबाट किसुनजी सभापतिको रुपमा निर्वाचित हुनु भएको थिएन ।  प्रधानमन्त्री भएपछि गिरिजाबाबुले महामन्त्रीबाट राजीनामा दिनु भयो र किसुनजी पछि गिरिजाबाबु नै पार्टीको सभापति पनि हुनुभयो । 

शवयात्रा निर्बिघ्न आर्यघाट पुग्यो । लाखौँ त यसै पनि सडकमा नै थिए , झन बीपीको महाप्रस्थानको अन्तिम झलकका लागि आर्यघाट पूर्वको श्लेष्मान्तक वन, मन्दिर, घाटको वरिपरि सबै  नै अन्तिम दर्शनका लागि तँछाड र मछाड गरी रुँदै कराउँदै साउनको भेलको वाग्मतीभित्र पनि मानिसहरु पसेका थिए । बीपीपुत्रहरुले दागबत्ती दिएका थिए र म भीडले ठेल्दाठेल्दै बीपी जल्दै गरेको चिताको दक्षिणपट्टिको पुलमुनिको कुनाका पुगेको रहेँछु । मेरो जीवनमा पहिलो पटक कुनै चितामा शव जलेको देखेको हुँ ।

मलाई अहिले पनि सम्झना छ उहाँको दाहिने कुर्कुच्चो डढ्दै गर्दा त्यहाँबाट तपतप झरेको बोसोमा बिचैमा आगोले त्यसलाई पनि आफैँमा समेटेर बालेको थियो । अनि लाग्यो, नेपालको वारेमा, विश्वको प्रजातन्त्र र समाजवादका वारेमा चिन्तन गर्ने एउटा चिन्तक , अभियन्ताले पनि यसरी संसार छोडेर जाँदो रहेछ र शान्त शान्त आफ्नो शरीरमा आगो लगाएको पनि खपेर निःशब्द बस्न सक्दोरहेछ ।

संसारको यो रीतलाई कसैले पनि न त बदल्ने सक्ने रहेछ, न म मर्दिन भनेर ढिपी गर्न नै सकिने रहेछ । जब रात छिप्पिँदै गयो, त्यहाँ शव पनि जलेर माटोमा मिल्दै थियो, धुँवाको रुपमा अनन्त आकाशतिर माथि माथि उड्दै थियो , मलामीहरु प्नि बिस्तारै बिस्तारै पातलिँदै गए । एकछिन अघिको कोलाहलपूर्ण रुवाबासी पनि अब शान्त भएको थियो र त्यहाँ केही पारिवारिक मानिसहरु बाँकी थिए र म र बासु काफ्ले चाहिँ घरपरिवारका बाहेक त्यहाँ निबाससम्म पुगेका थियौँ । यसरी बीपीको अन्तिम यात्रा सम्पन्न भएको थियो साउन ७ गते करिब मध्यरातमा । 
नभन्दै बीपीको अनुयायी र उत्तराधिकारीहरुले नेपालमा प्रजातन्त्रको दियो बालिरहे र अझै पनि उहाँकै संस्थापनाको दल नेपाली कांग्रेस नै प्रजातन्त्रको पर्यायवाची भएर नेपाली राजनीतिमा सक्रिय छ । बीपीको महाप्रस्थानको अन्तिम क्षणमा सम्झेँ—मेरो पहिलो भेट २०३४साल कात्तिक ८ गते भए देखिका अरु सबै भेटहरु सिनेमाको रिलमा जस्तै घुमिरहेका थिए र त्यस्तो एउटा चट्टानी  अडान भएको अनि नयाँ नेपालको नक्शामा मात्र आफ्नो अस्तित्व देख्ने महापुरुषको अन्तसम्मका दिनहरु सम्झेँ र उहाँका शौर्यताले भरिएका र चिन्तनले , नेतृत्वले सिञ्चित नेपाली प्रजातन्त्रको इतिहासलाई सम्झँदै गर्दा आँखाबाट साउनको झरीजस्तै आँसु थामिएका थिएनन् ।

उहाँको १३औँ दिनको पावन दिनमा उहाँको अस्तु नेपालका ७५ जिल्लाका नदीहरुमा प्रवाहित गर्ने र विदेशमा पनि प्रवाहित गरिएको थियो भन्ने बुझिएको हो । खासगरी बनारसमा, जर्मनीमा , बेलायतमा र अमेरिकामा अस्तु प्रवाहित गरिएको भन्ने सुनिएको हो । अब करिब ४० वर्ष अघिको कुरा हो , विस्मृति पनि हुने रहेछ । हामीले पक्कै पनि ती समाचारहरु राष्ट्र पुकारमा दियौँ होला तर सबै सम्झना नहुने रहेछ । देशका मुख्य नदीहरुमा अस्तु प्रवाहित गर्न जानेहरुको भीडमा लाठी चार्ज गरेको, कार्यकर्ताहरुलाई थुनेको चाहिँ सम्झना छ । त्यसपछि त बीपी स्मृति दिवस साउन ६ गते नेपाली काङ्ग्रेसले , नेपाल विद्यार्थी सङ्घले , सहरमा सरसफाइ र बृक्षरोपण कार्यक्रम गर्दा त व्यवधान गरिएकै हो स्थानीय प्रशासनबाट ।

म एउटा प्रजातन्त्रवादी भएका नाताले र नेपाली काङ्ग्रेसप्रति आस्था भएको व्यक्तिको नाताले बीपी कोइरालाप्रति आस्था स्वाभाविकै थियो तर बीपीको व्यक्तित्वलाई भन्दा सिद्धान्तलाई मान्ने भएकाले बीपीप्रतिको आस्था , विश्वास र भरोसा राख्नु त्यो बेलामा , युवावयमा झन स्वाभाविक थियो । साँच्चै भनौँ भने बाल्यकालदेखि नै बीपीको नामसँग परिचित थिएँ , हाम्रो  परिवार नै परिचित थियो । त्यसको कारण हुनसक्थ्यो—बा काङ्ग्रेस हुनु पनि । हाम्रो परिवार नै काङ्ग्रेसप्रति समर्पित रहेछ । त्यसैले पनि होला, मेरो जेहेनमा अरु कुनै पनि कुरा रहेन होला काङ्ग्रेसबाहेक ।

मैले राम्रोसँग कुरा बुझ्दा या सचेत भएर समाजका वारेमा होस सम्हाल्दा पार्टी प्रतिवन्धित थियो र बा भूमिगत हुनुहुन्थ्यो । पछि बा घरमा आउनु भयो र मलाई बाल्यमनमा के लाग्यो भने बा किन हराउनु भयो ? पछि थाहा भयो, उहाँ र कुलचन्द्र कोइराला काका काङ्ग्रेस भएकाले लुक्नु भएको रहेछ पुलिसले पक्राउ गर्छ भनेर । हाम्रो घरमा नेपाली काङ्ग्रेससँग सम्बन्धित सामग्रीहरु प्रशस्तै थिए । प्रगति भन्ने पत्रिका पनि थियो, त्यस्ता धेरै कागजातहरु आमाले लुकाउनु भएको थियो भन्ने सम्झन्छु किन रे भने पुलिस आएर घर खान तलासी गर्‍यो भने बालाई पक्रन्छ र हामीलाई पनि लैजान्छ । कहाँ लैजान्छ भन्ने खासै थाहा थिएन तर राजाले जेलमा थुन्छन् भन्ने सुनेको हुँ । बाहरु भर्खरै छुट्टिनु भएको थियो  र हामी मूल घरको उत्तरी भागमा रहेको मतानमा बसेका थियाँै । गोठ साझा नै थियो । 

बीपीको नाम जेहेनमा यसकारणले थियो होला कि त्यो बेलामा निर्वाचन बीपीकै नामले लडिएको थियो होला र घरमा बीपी कोइराला जिन्दावाद भन्ने नारा लेखेका कागजातहरु थिए होलान् किनभने बा भूमिगत हुँदै म र विष्णुले जखन्थानदेखि मूल घरसम्म नै बीपी कोइराला जिन्दावाद, नेपाली काङ्ग्रेस जिन्दावाद भन्दै दुई भाइले एउटा चारतारे झन्डा बाँसको भाटामा राखेर नारा लगाएका थियौँ । अर्थात् चारतारे झन्डा पनि कतै थियो घरमा र हामीले यसै भन्नुपर्छ भन्ने अवचेतन मस्तिष्कको उपजलाई मूर्तरुप दिएका थियौँ । त्यसैले पनि बीपीको नामसँग एउटा अदृश्य अपनत्व थियो । पछि जब सिन्धुली र जनकपुर पढ्न गएँ, त्यो भावनामा पुनर्वल प्राप्त भयो र प्रजातन्त्रको पक्षमा लागिरहने एउटा उर्जा प्राप्त भयो भन्दा अत्युक्ति हुँदैन । 

एउटा प्रजातन्त्रवादी हुनका लागि त्यति सजिलो छैन किनभने प्रजातन्त्र भनेको विधिको शासन हो र विधिले आफूलाई नोक्सान हुँदा पनि त्यसको पालना गर्ने क्षमता आफूमा हुनुपर्छ । सायद आजसम्म पनि बीपीको त्यही गुण र क्षमताका कारणले सिद्धान्त बनाउने र त्यसलाई जीवनमा व्यावहारिकरुपले प्रतिपादन गर्ने अर्को कुने प्रजातन्त्रवादी नेता नेपालमा जन्मन सकेन जवकि बीपी स्वयं भने आफूलाई एउटा प्रजातन्त्रको सिपाहीको रुपमा मात्र सम्झनु हुन्थ्यो । उहाँमा एउटा चुम्बकीय त्यस्तो व्यक्तित्व थियो जसले आफ्ना अघिल्तिर आएको सबैभन्दा ठुलो आलोचकलाई पनि आफ्ना सिद्धान्तमा सहमत गराउन सक्नुहुन्थ्यो । सायद त्यसैले होला , उहाँका सबैभन्दा कठोर आलोचक तत्कालीन राजा महेन्द्रले समेत बीपी बराबरको प्रधानमन्त्री अरु हुन नसक्ने भनेर पञ्चहरुसँग भनेका रहेछन् । 

बीपीका वारेमा म यहाँ खुला इतिहासको वर्णन गर्न चाहन्न किनभने बीपीले एउटा जुन मार्ग नेपालको राजनीतिमा कोर्नु भएको छ, त्यो अमिट छ र आज त्यसैलाई मानेर हामी मुलुकको समृद्धि र सुखको कल्पना गरिरहेका छौँ । बीपी खुला किताब हुनुहुन्थ्यो र आफूलाई लागेको भन्दा समाजको आवश्यकतालाई पहिचान गरी विकासलाई विकासलाई जनताको पक्षमा अनुवाद गर्नुपर्छ भन्नुहुन्थ्यो । बीपी विचारलाई निमिट्यान्न पार्न नेपालमा के पो गर्न बाँकी राखियो र पञ्चायतकालमा , आज पनि कतिपय घटनामा । तर बीपीको त्यो निःस्वार्थरुपमा मुलुकप्रतिको भावना थियो र प्रजातन्त्रप्रतिको नयाँ नयाँ प्रयोग गरेर अविकसित मुलुकहरुलाई विकासको मार्गमा लैजाने सूत्रको रुपमा थियो । 

त्यस्तो महान र असल व्यक्तिलाई मैले यी चर्मचक्षुले भौतिकरुपमा देख्न पाएँ, नजिकैबाट सुन्न र उहाँका वारेमा लेख्न पाएँ भन्दा पक्कै सानो मान्छेले गरेको नसुहाउँदो नभनिएला भन्ने पनि लागेको छ र कतिले यसलाई अस्वाभाविक नभनून भन्ने कुराप्रति म अत्यन्तै सजग छु । तर पनि म मेरो अतीतलाई न अब कुनै इरेजरले मेट्न सक्छु , न त बीपीप्रतिको मेरो आस्थालाई म कुनै पनि हालतमा कमी हुन दिन सक्छु । मेरो विचारमा नेपाली इतिहासमा एकजना अनुपम र अद्वितीय व्यक्तिको रुपमा उहाँको अवतरण भएको थियो, प्रजातन्त्रका पक्षमा आफूलाई सतीसालझैँ उभ्याउन र त्यसैका लागि जीवन नै न्यौछावर गर्नका लागि उहाँको जन्म भएको थियो । तुलना त गौतम बुद्ध, पृथ्वी नारायण शाह र भीमसेन थापासँग पनि गरिन्छ तर ती नेपाली इतिहासका महान व्यक्तिहरुसँग तुलना गर्नुभन्दा आजको नेपाली आधुनिक इतिहासमा सबैभन्दा चर्चित र सिद्धान्तकारको रुपमा उहाँलाई सम्झने गरिन्छ । 

उहाँका वारेमा नसुन्ने कुरै भएन, प्रजातन्त्रवादी भएकै नाताले र प्रतिनिधि सभामा प्रचण्ड वहुमत प्राप्त दल नेपाली काङ्ग्रेसको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री भइरहेको व्यक्तिलाई दल मानेकाले पक्राउ गर्नु, त्यसपछि दलहरुलाई नै प्रतिवन्ध लगाउनु र दलका विरुद्धमा सैनिक शासन लगाएर निर्दलीय व्यवस्थाको सूत्रपात गर्ने राजनीतिक नौटंकी गर्नु नै राजा महेन्द्रको गल्ती थियो । त्यसरी विनाकारण जेल बसेर जेलबाट उहाँ निस्किएको बेलामा म सिन्धुलीमा कक्षा १० मा पढ्दै थिएँ । त्यो दिन म ठुलाबा रामेश्वर गजुरेलको घरमा पुगेको थिएँ , अनि उहाँका घरमा झुन्ड्याएको रेडियोमा सायद अल इन्डिया रेडियोको समाचार हुनुपर्छ, बीपी छुटेको समाचार सुनेँ , ठुलाबा र दाजु चन्द्रप्रसाद गजुरेल घरेमा हुनुहुन्थ्यो । एउटा नयाँ स्फूर्तिको अनुभव किन पनि गरेँ भने अव बीपी छुट्नु भएको छ र नेपालमा प्रजातन्त्रको बहालीलाई कसैले र कुनै शक्तिले पनि रोक्न सक्नेछैन । 

एउटा नयाँ स्फूर्तिको अनुभव किन पनि गरेँ भने अव बीपी छुट्नु भएपछि पक्कै नेपालमा प्रजातन्त्र पुनस्र्थापना हुनेछ । लाग्थ्यो बीपीको उपस्थितिले नै नेपालको राजनीतिक माहौल आफैँ प्रजातन्त्रका पक्षमा आउने छ । तर त्यो मेरो किशोरावस्थाको भ्रम रहेछ । बीपीप्रतिको अगाध आस्था र उहाँको अप्रतिभ क्षमताप्रतिको विश्वास रहेछ तर राजनीतिक स्थिति यति नाजुक भइसकेको रहेछ कि बीपीले बारम्बार राजासँग संघर्ष नै गर्नुपरेको इतिहास छ ।

नेपालको राजनीति यति धेरै बाहिरबाट प्रभावित रहेछ कि किशोरवयको मेरो मस्तिष्कमा त्यो त पसेकै रहेनछ । बीपी जस्तो प्रजातन्त्र , मानवअधिकार र विधिको शासनप्रतिको अगाध आस्था राख्ने दृढ संकल्पित व्यक्ति र एउटा सैद्धान्तिक समूहको अभियन्तालाई समेत प्रजातन्त्र बेलैमा पुनस्र्थापना गर्न मुस्किल परेको थियो । उहाँको यस धर्तीबाट महाप्रस्थान गरेको करिब ५ वर्षपछि मात्र नेपालमा वहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो उहाँकै सखा गणेशमान सिंहज्यूको नेतृत्वामा । गणेशमानजीको सर्वोच्च नेतृत्वमा वामपन्थीहरुको समेत सहयोगमा राजाको निर्दलीय व्यवस्थाको अन्त गरिएको थियो । 

तर बीपी एउटा कालखण्डमा आफूलाई नेपालभित्रै रहेर राजासँग राष्ट्रियतामा सम्बन्धमा सहकार्य र प्रजातन्त्रका लागि शान्तिपूर्ण संघर्षको राजनीतिक लक्ष्य लिएर २०३३साल पुस १६ गते नेपाल आउनु भयो आफ्ना सहयोद्धा र नेता गणेशमान सिंहसमेत । 

मानिसहरुमा अहिले पनि के भ्रम छ भने बीपी र गणेशमानजीमा कसले कसलाई बढी सम्मान गथ्र्यो? सायद गणेशमानजीले बढी । होइन । बीपीले गणेशमानजीलाई जुन सम्मान गर्नुहुन्थ्यो सायदै समकालीन ,समवयी र सहकर्मी राजनेताहरुले एकअर्कालाई गर्ने सम्मानमा सबैभन्दा मान्य थियो किनभने धेरै कमलाई थाहा होला, बीपीको अन्तरवार्ता लिन गणेशमानजी भारत जानु भएको थियो ,त्यो युवाले नेपालमा स्वतन्त्रता दिलाउन नेतृत्व लिन सक्छ कि सक्दैन भनेर ।

अनि अन्तरवार्ता लिन गएको व्यक्ति नै त्यसैबेलादेखि बीपीको व्यक्तित्व र लक्ष्यप्रति विश्वस्त हुनुभयो जुन सैद्धान्तिक धारा मित्रताको रुपमा समेत जीवनपर्यन्त एकाकार भएर रह्यो । बीपीको कार्यभारलाई बीपीको निधनपश्चात् पनि रत्ति नछोडेर प्रजातन्त्र पुनस्र्थापनको गुरुत्तर अभिभारा पूरा गर्नुभयो र प्रजातन्त्रको पर्याय भएर रहनु भयो ।

म त्यसबेलामा सानोठिमी क्याम्पसमा डिप्लोमा इन बिजिनेस एजुकेसन अर्थात् बी एड गर्दैथिएँ । बीपी आउने भनेपछि त्यो बेलामा राजनीति एकप्रकारले कडाइका साथ निषेध गरिएको माहौलमा हामी केही साथीहरुका बिच यसवारेमा छलफल भयो । मेरो सम्झनामा त्यो बेलामा भोजपुरका एकनारायण सापकोटा , बाग्लुङका पौडेल थरका साथी सायद नाम गोविन्द शर्मा हो कि जस्तो लाग्छ, उहाँहरु सेवाकालीन शिक्षक तालिममा आउनु भएको थियो अनि मेरो क्लासको सुरेन्द्र लाखे थियो । तर साथीहरुलाई प्रहरीले चक्रपथबाट नै जान दिएन क्यारे ।

तर म पनि रामचन्द्र दाइको नेतृत्वमा  बीपी र गणेशमानजीको स्वागतमा पुगेको थिएँ । सानीमा बीना कोइराला हुनुहुन्थ्यो । हामी हजारौँ मानिसहरु बीपीको स्वागतका लागि गएका थियौँ । सानाबा विपिन कोइरालालाई अघिल्लै दिन पुलिसले पक्राउ गरिसकेको थियो । धेरै जनालाई पक्राउ गरेको  बुझिन्थ्यो । तर त्यो बेलामा अहिलेको जस्तो सूचना आदान प्रदान गर्ने माध्यम भनेको घर घरमा गएर जानकारी दिने या सीमित फोन भएको ठाउँमा कसैलाई भनेर वा सोधेर जानकारी लिन वा दिन सकिन्थ्यो । बीपीको आह्वानको छापिएको पर्चा लिएर पटनाबाट केही साथीहरु आइसक्नु भएको थियो, आज पनि बीपीको आह्वान भनेको त्यही पर्चा हो ।

हामी हजार पन्ध्र सय थियौँ भने सादा पोसाका प्रहरी र गुप्तचरहरुको संख्या त्यो भन्दा पनि बाक्लो थियो । त्यसैले बीपीको स्वागतका लागि त्यहाँ हजारौँ थियौँ भन्ने मानौँ । हामी कसो कसो हवाइ जहाज अवतरण गर्दा हेर्ने ठाउँमा पुगेका थियौँ । बीपीको प्लेन सायद इन्डियन एयरलाइन्सको थियो क्या रे किनभने बीपी नेपाली हवाइ यानमा आउनु चाहनु हुन्थ्यो तर सरकारले दिएन जस्तो लाग्छ । तर त्यो प्लेनलाई अर्को प्लेनले छेकिने गरी ल्याएर राख्यो र बीपी, गणेशमानजी, शैलजा दिदीलाई त्यहाँबाट पक्राउ गर्‍यो। अब सादा पोसाकवालाहरुले धरपकड, लाठी चार्ज गर्न थाले । सानीमाले तत्काल एउटा ट्याक्सी खोजेर रामचन्द्र पौडेल दाइलाई भगाउनु भयो ।

हामी सबै भागाभाग भयौँ । दौडदै चक्रपथसम्म आयौँ । सायद त्यही दिन मैयाँ भाउजुमाथि पुलिसले अभद्र व्यवहार गरेको थियो । उहाँलाई बचाउन जाँदा सिन्धुलीका कांग्रेसी युवा नेता भरतराज बराललाई लाठी चार्ज गरेर अस्पतालमा लगेको रहेछ । लमजुङका विद्यार्थी नेता विश्वनाथ अधिकारीलाई पनि त्यसैगरी लछारपछार गरेको थियो जस्तो लाग्छ ।

त्यसदिन धेरै जसो नेपाली कांग्रेसका नेता तथा युवा नेताहरु, नेविसंघका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिसकिएको थियो । तै पनि बीपीप्रतिको आस्था र भरोसाका कारणले स्वागतका लागि हजारौँ सामान्य नागरिकहरु विमानस्थलमा आएका थिए जवकि बीपीलाई ७ ओटा त्यस्ता मुद्दाहरु अदालतमा पर्खेर बसेका थिए जसमा उहाँलाई मृत्युदण्ड माग गरिएको थियो । तर पनि बीपीले अरिङ्गालको गोलोमा ढुङ्गा हानेझैँ गरी  बाहिरबाट शान्त देखिने तर प्रजातन्त्रको प्रसव वेदनामा छटपटाइरहेकी नेपाल आमाको चीत्कार सुनेर उहाँ र गणेशमानजी आउनु भएको थियो । अरु त अरु , भारतका सुप्रसिद्ध समाजवादी नेता जयप्रकाश नारायणजीले समेत बीपी आत्महत्याका लागि उद्यत भएर नेपाल फर्कन लाग्नु भएको भन्नुभएको रहेछ ।

बीपीको राष्ट्रिय मेलमिलापलाई चीनले चीन विरोधी नाराको रुपमा लियो क्यारे, भारतले भारत विरोधी संगठनका रुपमा लियो क्यारे, राजाले आफ्नो निर्विघ्न राज्यमा खलल पार्न आएको भन्ने सम्झिए क्यारे अनि कम्युनिस्टहरुले आफ्नो सहज तरिकाले राजासँग मिलेर वा पञ्चसँग मिलेर गरिरहेको आफ्नो सङ्गठनमा अब समस्या पर्ने ठाने होलान् किनभने राजा, भारत, पञ्च, कम्युनिस्ट सबैले बीपीको नेपाल आगमनलाई अनौठो र असामयिक मानेका थिए ।

तर बीपी नेपाल आउनु भयो र चुपचाप बसेको,मुर्दा शान्तिको रुपमा शान्त तर स्थिर राजनीति भनेर पञ्चहरुले भन्ने गरेको पञ्चायतमा त्यसले तुफान ल्यायो जसको परिणाम आजको अवस्थाको परिणामले आँकलन गर्न सकिन्छ । बीपीको जीवन नै यस्तै नयाँ नयाँ संघर्षले भरिएको पाइन्छ प्रजातन्त्रका पक्षमा र जनताका पक्षमा । बीपीको नेपाली जनताको नाममा आएको आह्वान हामीले पढेका थियौँ र बडो होसियारीसाथ आफ्ना साथीहरुसमक्ष वितरण गरेका थियौँ । बीपीको एउटा भनाइ अहिले पनि सम्झने गरिन्छ—जीवन आफैँमा एउटा जोखिमपूर्ण यात्रा हो । 

(साभार : हरिविनोद अधिकारीद्धारा स्कूल अफ डेमोक्रेसी अमेरिकाद्वारा प्रकाशित विश्वेश्वर प्रसाद कोइराला शताब्दी सन्दर्भ पुस्तकाका लागि प्रेषित लेखबाट)

प्रतिक्रिया