प्रजातन्त्रको पुनरागमनको लडाइँ जारी राख्ने भेनेजुएलाका विपक्षी नेता गोन्जालेजको प्रतिवद्धता

एजेन्सी । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले स्वतन्त्रता र प्रजातन्त्रको पुनरागमनका लागि लडाइँ जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

राजधानी काराकसबाट स्पेन पुगेर शरण लिएका उनले अडियो सन्देशमार्फत उनले लडाइँ जारी राख्ने बताएका हुन । जुलाईमा भएको विवादास्पद राष्ट्रपति निर्वाचनबाट निर्वाचित निकोलस मादुरो विजयको घोषणालाई चुनौती दिने गोन्जालेज आफ्नी श्रीमतीसँग स्पेनको राजधानी मड्रिडस्थित टोरेजोन डे अर्डोज सैन्य बेसमा अवतरण गरेका थिए । 

स्पेन पुगेलगत्तै जारी गरेको अडियो सन्देशमा ज्यान मार्ने धम्कीका कारण काराकसबाट स्पेन पुगेको उनले स्पष्ट पारेका छन । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले उहाँको आगमनको स्वागत गर्दै स्पेनले ’प्रजातन्त्रका नायक’ लाई कहिल्यै नत्याग्ने अभिव्यक्ति दिएका छन् । युरोपेली संघ–ईयूका उप–राष्ट्रपति जोसेफ बोरेलले लोकतन्त्रमा कुनै पनि राजनीतिक व्यक्ति अन्य देशमा शरण लिनु नपर्ने भन्दै भेनेजुएलाको लोकतन्त्रका लागि निकै दुखद दिन भएको बताएका छन् । 

राष्ट्रपति निर्वाचनपछि मदुरोको जितलाई अस्वीकार गरेको कारण मदुरो सरकारले गोन्जालेजविरुद्ध आरोप लगाएर पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता गोन्जालेज काराकासस्थित स्पेनी दूतावासमा बसेका थिए । त्यसपछि उनले स्पेनमा शरण लिएका हुन् । निर्वाचनमा मदुरोले आफू जितेको घोषणा गरेपनि विपक्षी दल र पश्चिमा राष्ट्रहरुले उक्त चुनाव निष्पक्ष नभएको भन्दै मदुरोलाई राष्ट्रपतिको मान्यता दिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया