असोज ४ मा प्रतिवेदन बुझाउँदै सहकारी समिति

काठमाडौं । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समिति असोज ४ गते प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने तयारीमा छ । 

असोज ६ गतेसम्म समितिको कार्यावधि छ । कार्यावधिअगावै संसद् अधिवेशन अन्त्य भए समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउनेछ। बिजनेस नभएकाले भदौ २६ गतेपछि संसद् अधिवेशन अन्त्य हुने सम्भावना पनि छ ।

सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि दोषी देखाउनेगरी प्रतिवेदन तयार गर्न लागेको छ । यही भदौ ७ गते समितिले लामिछानेसँग नौ घण्टा बयान लिएको थियो। सहकारीको रकम प्रवाह भएको गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेसँग बयान लिइएको हो । 

 भदौ १८ गते प्रतिनिधिसभाले समितिको म्याद १५ दिन थपेको हो। समय अपुग भएकाले समितिले थप १५ दिन समय मागेको थियो।  जेठ १५ मा प्रतिनिधिसभाले सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। सुरुमा कार्यप्रारम्भ दिनदेखि तीन महिनामा प्रतिवेदन बुझाउन भनिएको थियो। समितिले जेठ २३ देखि काम थालेको हो ।  

प्रतिक्रिया