सत्तारूढ दलको बैठक बस्दै

काठमाडौं । सत्तारूढ दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीले अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकमा सरकारको कामको मूल्यांकन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ । 

आइतबार साँझ प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले का महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो ।

छलफलमा न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको छ । त्यसलाई अन्तिम रूप दिन र सरकारको नीति कार्यक्रम र बजेटसमेत आइसकेको अवस्थामा न्यूनतम साझा कार्यक्रम कसरी तय गर्ने र सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा सत्ता साझेदार दलहरूबीच छलफल हुन लागेको हो ।

दुई दलविच प्रहरी र शशस्त्र प्रहरी सम्बन्धी कानुनलाई पनि अन्तिम रुप दिनेमा सहमति बनेको गृहमन्त्री रमेश लेखकले बताएका छन । गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो । त्यसैमा टेकेर ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।
 

प्रतिक्रिया