कोशी प्रदेशमा नयाँ सरकार गठनको कसरत शुरु

सरकार गठन आह्वानसँगै दलहरु नेतृत्वको लागि दौडधुपमा

कोशी प्रदेशमा नयाँ सरकार गठनको कसरत शुरु भएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेपछि दलहरु आआफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी कसरतमा जुटेका हुन् । प्रदेश प्रमुख खापुुङले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्न बिहीवारसम्मको समय दिएका छन । शुक्रवार हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन । यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा २ को प्रयोग भइसकेको भन्दै उपधारा ३ अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुनुपर्ने दाबी गर्दै आएको थियो । प्रदेश प्रमुखबाट उपधारा २ अनुसार सरकार गठनको आह्वान भएसँगै एमाले, कांग्रेस, माओवादीलगायतका दलहरू आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधुपमा लागेका छन् । अहिले विपक्षीमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन बनाएर सरकार गठन गर्ने दाबी गरेका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ प्रदेश सभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्दा गठबन्धनसँग जम्मा ४६ प्रदेश सभा सदस्य मात्रै हुन्छ । कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् । प्रदेश सभाको सबभन्दा ठूलो दल एमालेसँग ४० र राप्रपासँग ६ जना सांसद छन् ।
 

प्रतिक्रिया