बढुवामा असन्तुष्टी‌ जनाउँदै संगिनाले दिइन् उपनिर्देशकबाट राजीनामा

काठमाडौ । संगिना बैद्यले राष्ट्रिय खेलकुद परिषद (राखेप) को‌ तालिम तथा प्रशिक्षण विभागको‌ उप निर्देशक पदबाट राजीनामा दिएकी छन्  वैद्यले निर्देशक पदमा भएको बढुवामा असन्तुष्टी‌ जनाउँदै आइतवार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् ।

तालिम तथा प्रशिक्षण विभागका तत्कालीन निर्देशक प्रचण्ड शर्माले भदौ १९ गते अनिवार्य अवकाश पाएपछि रिक्त रहेको पदमा कराते प्रशिक्षक सोभितराज प्रसाईंलाई सो‌ पदको जिम्मेवारी दिइएको थियो।

निर्देशकको पद रिक्त भएपछि उप‌ निर्देशकहरु मध्येबाट निर्देशक बनाउने परम्परा थियो । हाल उप निर्देशकमा वैद्य र अर्का ओलम्पियन विष्णुबहादुर सिंह छन् ।

तालिम तथा प्रशिक्षण विभागमा अहिलेसम्म महिलालाई निर्देशकको‌ जिम्मेवारी दिइएको छैन । राखेपमा प्रसाईंको प्रवेश अघि भएपनि वैद्य पहिला अधिकृत भएकी थिइन्। यसका बाबजुद वैद्यलाई जिम्मेवारी दिइएन ।

वैद्य २०५२ भदौ ३० गते राखेपको सेवामा प्रवेश गरकी थिइन् भने २०६३ पुस २१ मा बढुवा भएकी थिइन् । प्रसाईको‌ बढुवा भने २०६४ पुस २७ मा भएको थियो । प्रसाईं २०५० असोज ८ गते ३ महिनाको करारमा सहायक प्रशिक्षकमा राखेपमा नियुक्त भएका थिए।

ओलम्पिकमा छनोट हुने पहिलो नेपाली वैद्यले एसियन तेक्वान्दोमा स्वर्ण पदक जित्नुका साथै दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिक्रिया