मूल्य नघटाएर चर्को नाफा राख्दै निगमद्धारा आइओसीलाई २४ अर्ब बक्यौता भुक्तानी
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन आइओसीलाई तेल खरिद गरेबापतको बक्यौता २४ अर्ब रकम चुक्ता गरेको छ । दुई वर्षको बक्यौता रकम निगमले एक वर्षमै चुक्ता गरेको हो । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र दरले वृद्धि हुन थालेपछि निगम पुस २०७७ देखि नोक्सानीमा थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा घटेको दरमा नेपाली बजारमा मूल्य नघटाएर चर्को नाफा राख्दै बक्यौता तिरेको हो । गत भदौ–असोजदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि निगमले आइओसीको ऋण तिर्न सफल भएको हो । आगामी जुलाई ८ मा ब्याजबापतको १८ करोड रुपियाँ बुझाएपछि आइओसीको सबै ऋण चुक्ता हुने निगमले जनाएको छ । निगमले आइओसीलाई ७.१ प्रतिशत ब्याजबापत एक वर्षमा ७० करोड रुपियाँ बुझाएको छ । नाफामा मूल्य स्थिरीकरण कोषको साढे तीन अर्ब र सरकारबाट भ्याटबापत फिर्ता आएको साढे तीन अर्ब रुपियाँ जोडेर निगमले ऋण तिरेको हो । निगमले आइओसीको ऋण तिरे पनि नेपाल सरकारको सात अर्ब रुपियाँ ऋण तिर्न भने बाँकी छ । सो ऋण पाँच वर्षका लागि लिइएको हो । सम्झौता अनुसार ७० करोडका दरले १० किस्तामा ऋण भुक्तानी गर्नुपर्छ । वर्षमा दुई किस्ताका दरले तिर्दै जानुपर्ने निगमले जनाएको छ । निगमले प्रत्येक महिनाको ८ र २३ तारिखमा तेल खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।
प्रतिक्रिया