आत्मसमर्पण गरेर कारागार चलान भए कांग्रेस लुम्बिनी सांसद के.सी.

काठमाडौँ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर (डीबी) केसी अदालतमा पुगेर आत्मसर्मपण गरेका छन् ।  सांसद केसी आफै रुकुम पूर्व  जिल्ला अदालत पुगेर आइतबार दिउँसो आत्मसमर्पण गरेका हुन्। उनलाई अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार पठाएको छ ।

रुकुम पूर्वका १(ख)बाट निर्वाचित केसीलाई जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाए पनि सजाय भुक्तान नभएको पत्र प्रहरीलाई पठाएपछि फरार रहेका थिए ।

२०४८ सालमा रुकुम जिल्ला अदालतमा चलेको सरकारी कागजात किर्तेको मुद्दामा केसीलाई दोषी ठहर गरिएको थियो । सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए । पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो ।

केसीकी जेठी श्रीमती राधा केसीविरुद्ध साविकको रुकुम जिल्ला अदालतमा अंशसहितको सम्बन्धविच्छेद मुद्दा चलेको थियो । उक्त मुद्दाका क्रममा केसीले सरकारी कागजात किर्ते गरी पेस गरेको पाइएपछि जेठी श्रीमती राधाकै जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी केसीविरुद्ध किर्ते गरेको कसुरमा मुद्दा चलेको थियो ।

रुकुम जिल्लालाई दुई जिल्लामा विभाजन गरेपछि २०७५ साल वैशाख ३१ गते रुकुम–पश्चिम जिल्ला अदालतले सांसद केसीविरुद्ध २०४८ साल असार ९ गते भएको फैसला कार्यान्वयन नभएको सम्बन्धमा रुकुम पूर्व जिल्ला अदालतलाई पत्राचार गरेको थियो ।

त्यसपछि कार्यान्वयन हुन नसकेको फैसलाका सम्बन्धमा कार्यान्वयनका लागि रुकुमकोट जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वलाई पत्राचार गरेको थियो । त्यसपछि मात्रै उक्त व्यक्ति हालका प्रदेशसभा सदस्य डीबी केसी भन्ने धनबहादुर केसी भन्ने खुलेको थियो ।

प्रतिक्रिया