महर्षि मृकण्डका पुत्र मार्कण्डेयले कसरी सबैलाई नमस्कार गरेर  चिरञ्जीवी बन्न सके ?

पुराणहरु भनेका वेदका विस्तारित रुप हुने भनेर मानिएको छ । अठार पुराणमध्येको सातौँमा गणना गरिने मार्कण्डेय पुराणको वक्ता महामुनि मार्कण्डेय नै हुन् ।

हुन त मार्कण्डेयको प्रसङ्ग महाभारतको वनपर्वमा आउँछ र वनवासमा रहेका महाराज युधिष्ठिरसहित पाण्डवहरु र महारानी द्रौपदीसमेतलाई ज्ञानगुनका कुराहरु भनेर पथप्रदर्शन गरेको कथा महाभारतमा पाइन्छ । त्यसो त अष्ट चिरञ्जीवीमध्ये सृष्टिको अन्त्य हुँदाको प्रलय र प्रलयपछिको नयाँ सृष्टिको आदिकालको संक्रमणमा देखिनेमध्ये स्वयं नारायणबाहेक महामुनि मार्कण्डेय मात्र हुन् भनेर पुराणहरुले व्याख्या गरेका छन् । तर पुराणहरुमा पनि महामुनिका रुपमा परिचित तथा अष्टचिरञ्जीवी मध्येका मार्कण्डेयको उत्पत्ति, जीवनचक्र र उनको चिरञ्जीवी हुने प्रक्रियामा फरक–फरक धारणा पाइँदो रहेछ । यतिचाहिँ पक्का हो, मार्कण्डेय ऋषि एक मेधावी विद्वान थिए र आफैँ गुरुकुल चलाए पनि आवश्यकताअनुसार संसार हितका लागि उपदेश दिँदै हिंड्थे ।  उनको जन्मकथा र चिरञ्जीवी हुने कुरामा पनि पुराणहरुमा फरक–फरक व्याख्या पाइन्छ । उनी विष्णुका अंश थिए भन्ने कुराको प्रमाण नारद पुराणमा पाइन्छ ।


मृकण्ड ऋषि ऋषिहरुमध्ये अत्यन्त प्रभावशाली, स्वभावले पनि शान्त र भविष्य द्रष्टा थिए । एकपटक उनले घोर तपस्या गरेछन् र उनको तपस्याबाट डराएर देवराज इन्द्रले उनको तपस्या भंग गराउने उद्देश्यले स्वयं विष्णुसँग सहयोग माग्न गएका रहेछन् किनभने उनले साक्षात् परमात्मा विष्णुको भक्तका रुपमा निःस्वार्थरुपमा तपस्या गरेका थिए । विष्णुले पनि ऋषि मृकण्डको कुनै व्यक्तिगत स्वार्थ नभएको र विश्वका आम मानिसहरुको भलाइका लागि तपस्या गरेकाले नडराउन इन्द्रलाई सम्झाएका रहेछन् । धेरैवर्षसम्म घनघोर तपस्या गरेपछि एकदिन स्वयं विष्णु आफ्नो दिव्य स्वरुपमा गएर मृकण्डलाई आँखा खोलेर हेर्न सम्झाए छन् । कसको आवाज आयो भनेर हेर्दा त भगवान विष्णुले नै कष्ट गरेर आफूलाई दर्शन दिन आएको देखेर हर्षाश्रु बगाउँदै धेरै जिज्ञासाहरु राखेछन् र ती सबै जिज्ञासाहरुका उत्तरहरु दिएपछि मृकण्ड ऋषिका आराध्यदेव विष्णुले सोधेछन्—म दर्शन दिन आएपछि तिमीले वरदान माग्नुपर्छ र मैले तिम्रो आवश्यकताको वरदान दिनुपर्छ ।

तर मृकण्डले विष्णुको वारेमा निःस्वार्थभावले प्रशंसा गरेपछि भनेछन् , भगवान, मैले जीवनभर हजुरको भक्त भएर संसारको सेवा गर्न पाऊँ , मेरो अरु कुनै आकांक्षा छैन । त्यसो भनेपछि झन विष्णु खुसी भएर जीवनभर विष्णुको भक्त हुनका लागि र आफू दर्शन दिन जहाँ गए पनि वरदान दिने बाचा  अनुसार म आफैँ केही अंशको रुपमा तिम्रो घरमा तिम्रो छोरो भएर तिम्रो र संसारको सेवा गर्नेछु ।

त्यसपछि तपस्याबाट आश्रम बनाएर मृकण्डले एक सुशीला कन्यासँग विवाह गरे र त्यसको दस महिनापछि छोरो जन्मियो, त्यही छोरो नै मार्कण्डेय हुन् जसले आफ्ना पिताजीजस्तै वेदवेदाङ्ग, धर्म, दर्शनसहित कर्मकाण्डमा दक्षता हासिल गरे । स्वयं विष्णुका अंशावतार भएकाले उनका रहेको तीक्ष्णताले यतिसम्म प्रभाव पारेको थियो कि उनी अष्टचिरञ्जीवीको रुपमा विश्वभर प्रख्यात भए । उनै मार्कण्डेयलाई नारायणको यति कृपा रह्यो कि उनी प्रलयबाट पृथ्वी जलमग्न हुँदा पनि नारायणसँग रहे । त्यसले देखाउँछ भने मानव जातिका तर्फबाट प्रलय देखेर त्यसको वृत्तान्त देख्ने र लेख्ने उनै भए । उनले पनि तपस्याको बलले आफ्नो ब्रह्मतेजको विकास गरेका थिए र उनको घोर तपस्याबाट खुसी भएर वेदको विस्तारसहित व्याख्या गर्नका लागि उनलाई पुराण तयार गर्ने काम पनि दिइयो जसको फलस्वरुप मार्कण्डेयको नामबाट, उनले दिएका ज्ञानका आधारमा मार्कण्डेय पुराणको रचना सम्भव भएको थियो । 

पद्म पुराणका आधारमा , पुलस्त्य ऋषिले भीष्म पितामहलाई जे भनेका थिए, त्यसको आधारमा भन्ने हो भने अर्को कथा कस्तो छ भने मृकण्ड ऋषिको तपस्याका तेजले एउटा अत्यन्त राम्रो बालकको जन्म भयो । त्यसको क्षमता कस्तो थियो भने चारवर्षको उमेरमा नै उसमा मानवीय गुणहरु प्रशस्त पाइन्थ्यो , आश्रममा अरुले पढेको आधारमा उसले धेरै कुराहरु सिकेको थियो । बालक मार्कण्डेय पाँचवर्षका भएको बेलामा एकजना ऋषि कतैबाट मृकण्ड ऋषिको आश्रममा आएका थिए । उनले त्यो तेजवान बालकको अनुहारमा एकछिन हेरिरहे र थाहा पाए, यो बालकको जीवन अब ५महिनाभन्दा बढी छैन । महर्षि भृगुपुत्र मृकण्डले जब ती ऋषिले ध्यानपूर्वक बालक मार्कण्डेयलाई ध्यानपूर्वक हेरेको देखे, उनले ऋषिलाई उसको जीवनचक्रको बारेमा सोधे र कतिसम्म यसको आयु होला भनेर सोधे । ती ब्राह्मणले पनि भने—मैले यो बालकको भविष्य देखेँ, यसको उमेर अब मात्र ५ महिना बाँकी छ । शोक नगर्नू किनभने विधिको विधान यस्तै रहेछ तर यसमा विलक्षण प्रतिभा भने देखिन्छ । 

यति भनेर ती साधु आफ्नो गन्तव्यतिर गए । यता ऋषि मृकण्डले संयमताका साथ , उसको जीवन जबसम्म रहन्छ, सारगर्भित रुपमा नै बाँचोस् भनेर ब्रतबन्ध गराए, वेदको शिक्षा दिए । सानैदेखि सभ्य र सौम्य बालक मार्कण्डेय, भगवानको अंश समेत भएकाले उसमा दया, माया , सहिष्णुता र नम्रता प्रशस्त थियो ।  ऊ जसलाई पनि प्रणाम गथ्र्यो । अरु बालकहरुजस्तो खेलेर मात्र बस्दैनथ्यो , पिताजीको यज्ञशालामा पिताजीलाई सहयोग गर्थे । 

महर्षि मृकण्डको आश्रममा प्रशस्त साधु, राजा तथा वैश्यहरु आउँथे ज्ञानका लागि । ब्रतबन्ध भएपछि बालक मार्कण्डेयलाई महर्षि मृकण्डले भनेका थिए—बाबु, अब तिम्रो उपनयन पनि भयो, जो ऋषिलाई देख्छौँ, भेट्छौ, सादररुपमा वन्दना गर्नू, प्रणाम गर्नू । त्यसै पनि असल मार्कण्डेय बालक, झन पिताजीको आज्ञा पाएपछि जसलाई पनि झुकेर प्रणाम गर्ने गर्थे ।

एकदिन संसारको भलो गर्ने सप्तर्षिहरु त्यही बाटो कतै जाँदै थिए मृकण्ड ऋषिको आश्रमको बाटो, सप्तर्षिहरुलाई देखेर बालक मार्कण्डेयले सबै महर्षिहरुलाई झु्केर प्रणाम गरे । सप्तर्षिहरुले पनि आयुष्मान् भवः सौम्य भनेर दीर्घायु हुने आशीर्वाद दिए । त्यति भनेपछि बल्ल सप्तर्षिहरुले पनि उसको आयुप्रति ध्यान दिए, उनीहरुलाई थाहा भयो कि अब पाँच दिनमात्र बालको जीवन बाँकी छ । दिव्यज्ञान र भविष्यद्रष्टा सप्तर्षिहरुलाई खेद भयो, जम्मा पाँच दिन मात्र बाँकी रहेको बालकलाई दीर्घायुको आशीर्वाद दिइयो । तर सप्तर्षिजस्ता महान योगीहरु, साधुहरु र महामुनिहरुको वचन कसरी झुठो हुन दिने ? भन्ने भय एकातिर भयो भने अर्कोतिर विधिको विधानलाई काट्न त स्वयं धर्मराज, इन्द्र, सूर्य, विष्णु, ब्रह्मा, शिवले सक्दैनन् भने महामुनिहरुले त कसरी नभएको आयु थप्न सक्छन् र ? आशीर्वादका शब्दहरु झुठो पनि हुनु नहुने , विधिको विधानलाई पनि बदल्न नसक्ने अवस्था देखेपछि सप्तर्षिहरुले बालक मार्कण्डेयलाई लिएर सृष्टिकर्ता ब्रह्माजीको ब्रह्मलोकमा लिएर गए । बालकलाई अघिल्तिर राखेर सप्तर्षिले ब्रह्माजीलाई प्रणाम गरे र सँगै बालकले पनि ब्रह्माजीलाई शिर निहुराएर प्रणाम ग¥यो । ब्रह्माजीले पनि सप्तर्षिहरुसँगै बालकलाई पनि आशीर्वाद दिँदै, चिरायु हुने आशीर्वाद दिनुभयो । 

पितामह ब्रह्माको आशीर्वचन सुनेपछि सप्तर्षिहरुलाई पनि सन्तोष भयो किनभने सृष्टिकर्ता पितामहले पनि चिरायु हुने आशीर्वाद दिनुभयो । अनि ब्रह्माजीले सप्तर्षिहरुलाई ब्रह्मलोक आउनुको कारण सोध्दै यो बालक को हो भन्ने प्रश्न पनि गर्नुभयो । ऋषिहरुले भने—यो बालक ऋषि मृकण्डको पुत्र मार्कण्डेय हो । यसको उमेर अब केही दिनमात्र बाँकी छ । यसको जसलाई देखे पनि नम्रताका साथ झुकेर प्रणाम गर्ने बानी नै परेको रहेछ । संयोगले हामी संसार घुम्ने क्रममा ऋषि मृकण्डको आश्रमको बाटो हुँदै जाँदै थियौँ, यो बालकले बाटोमा नै हामीलाई शिर निहुराएर प्रणाम ग¥यो , अनि हामीले उसलाई दीर्घायुको आशीर्वाद दियौँ तर पछि ध्यानपूर्वक विचार गर्दा यसको उमेर मात्र पाँच दिन बाँकी देख्यौँ । अनि हामी यो बालकलाई हजुरसमक्ष लिएर आउँदै थियौँ , पितामहलाई पनि उसले देख्ने बित्तिकै शिर निहुराएर प्रणाम ग¥यो , अब पितामहबाट पनि त्यस्तै आशीर्वाद दिए पछि अब हाम्रो आशीर्वाद र स्वयं पितामहको आशीर्वाद पनि झुठो नहोला किनभने हजुरको आशीर्वाद त झुठो हुनै सक्दैन । 

तत्कालै सृष्टिकर्ता ब्रह्माजीले हाँस्दै भन्नुभयो —यो बालकको आयु मेरो समान हुनेछ । यो कल्पको अन्त्य र अर्को कल्पको सुरुमा पनि नारायणसँगै जीवित रहने छ र श्रेष्ठ ऋषिहरुबाट सम्मान पाएर रहनेछ । त्यहाँबाट सप्तर्षिहरु आफ्नो स्वभावअनुसार ब्रह्माण्डको भ्रमणसँग विभिन्न तीर्थादिको भ्रमणमा निस्किए र बालक मार्कण्डेयचाहिँ ब्रह्मलोकबाट पृथ्वीमा आयो र पिताजीसँग भन्न लाग्यो—परमपूज्य पिताजी, अब हजुरको चिन्ता हराउने भयो किनभने आज म ब्रह्मलोकमा गएको थिएँ सप्तर्षिहरुसँग । उहाँहरुले मलाई पितामहको लोकमा लिएर जानु भएको थियो ।

सप्तर्षिहरुले पनि मलाई चिरायु हुने आशीर्वाद दिनुभएको थियो र पितामहले पनि त्यस्तै आशीर्वाद दिनुभयो र भन्नुभयो—एउटा कल्पबाट अर्कोकल्पसम्म बाँच्ने ममात्र हुनेछु मानवमा र कल्पकल्पसम्म मेरो आयु चिरायुको रुपमा रहनेछ । पितामहको यस्तो आशीर्वाद र सप्तर्षिहरुको पनि मप्रतिको आशीर्वादले म भरिपूर्ण भएर पृथ्वीलोकमा फर्केको हुँ । पितामहको आशीर्वादलाई सफल गराउन अब म पुष्कर तीर्थमा जानेछु र ब्रह्मलोक जस्तै पवित्र पुष्कर तीर्थमा म तपस्यारत हुनेछु । 

ऋषि मृकण्ड खुसीले गदगद हुँदै भनेछन्—पुत्र, आज मेरो जीवन सार्थक भयो किनभने तिमीले स्वयं पितामहको दर्शन गर्न पायौँ त्यो पनि ब्रह्मलोकमा नै गएर र स्वयं सप्तर्षिहरुको कृपामा पितामह र सप्तर्षिहरुको आशीर्वाद पायौ ।  

पुलस्त्य ऋषिले भीष्म पितामहलाई यतिभन्दै मार्कण्डेयको चिरञ्जीवी भएको कारण बताउँदै भने—त्यसपछि महामुनिका रुपमा मार्कण्डेय गणना भए र उनको आश्रम पुष्करमा स्थापित भयो । आफ्ना नम्रता र शिलस्वभावबाट स्वयं मृत्युलाई समेत जितेर चिरञ्जीवी हुने तिनै मार्कण्डेय ऋषिले कहिले पक्षीमार्फत् त कहिले अरुमार्फत् भनेका कुराहरु नै मार्कण्डेय पुराणका रुपमा विश्वभर प्रख्यात भएको हो । 

वेदको एउटा गुनासो के रहेछ भने गलत उच्चारण गर्ने र गलत काम गर्नेले पनि वेदको अर्थ लगाउने नाममा अपव्याख्या गर्ने हुनाले सबैभन्दा पीडा हुन्छ भनेकाले पुराणहरुमार्फत् वेदको अंशहरुको विस्तार गर्र्ने काम हुने अनि ऋषि मार्कण्डेयले भक्ति, समाजको प्रतीकात्मक विकास र विनाशको व्याख्याका लागि जुन पुराणको कल्पना गरे र जसको संरचनागत स्वरुपलाई वेदव्यासले विकास गरे, त्यही नै मार्कण्डेय पुराणको रुपमा विकास भएको हो । महापुराणहरुमध्ये एक गणनामा परेको मार्कण्डेय पुराणमा एकखण्डको रुपमा रहेको देवी माहात्म्यले तत्कालीन विकृत राजनीति र त्यसको निराकरणको प्रतीकात्मक वर्णन छ । महिषासुर, शुम्भ निशुम्भ, चण्ड मुण्ड र रक्तवीजहरु अहिले पनि जताततै भेटिन्छन् र उनीहरुको पनि सर्वनाश उनीहरुकै कामका कारणवीजबाट भएको देखिन्छ । 

पुराणहरु पूजा गर्नका लागि मात्र होइनन्, तिनमा निहित ज्ञानको भण्डारलाई हामी समय सापेक्षरुपमा ग्रहण गर्नु सक्नुपर्छ भन्ने ज्ञान मार्कण्डेय पुराणका प्रणेताबाट पाइन्छ । 
 

प्रतिक्रिया