जर्मनीमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

एजेन्सी । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्निनियन्त्रक र विमानले प्रयास तीव्र पारेकाे छ । 

हर्ज पर्वतमा शुक्रबारदेखि  डढेलो सुरु भएको र साँझसम्ममा यसले भीषण रूप लिएको थियो। स्याक्सोनी–अनहाल्ट राज्यको हर्ज जिल्लाका अधिकारीहरूका अनुसार ब्रोकेन पर्वतमा करिब १५० अग्निनियन्त्रक, विमान र हेलिकप्टरहरू तैनाथ गरिएको छ र वरपरको क्षेत्र बन्द गरिएको छ।

शनिबार पनि आगोको प्रकोप जारी रहेको र अग्निनियन्त्रकलाई सहयोग गर्न विमान र हेलिकप्टर पुनः पठाइएको जर्मन अधिकारीले बताएका छन् । थप तीन वटा विमान र अर्को हेलिकप्टर पनि यस प्रयासमा सामेल हुने अपेक्षा गरिएको छ ।

पदयात्री र पर्यटकलाई उक्त क्षेत्र छोड्न आग्रह गरिएको छ र शुक्रबार दिउँसो बसमार्फत् ५०० जनालाई सुरक्षित स्थानमा ल्याइएको स्थानीय प्रसारक एनडीआरले जनाएको छ ।

सन् २०२२ को सेप्टेम्बरमा हर्ज पर्वतको जङ्गलमा भीषण आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन अधिकारीहरूले आपतकालीन अवस्थाको घोषणा गरी सयौँ अग्निनियन्त्रकहरूले केही दिनसम्म दिनरात काम गरेका थिए । 

अन्य देशहरूजस्तै जर्मनीले पनि हालैका वर्षहरूमा गर्मीयाममा उच्च तापक्रम अनुभव गरिरहेको छ। वैज्ञानिकहरूले मानव–प्रेरित जलवायु परिवर्तनले तीव्र बनाएको बताएको तापक्रम वृद्धिले यस वर्ष पनि संसारभर मौसमी सङ्कटको सामना गरिरहेका छन् । 
 

प्रतिक्रिया