लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा सेवा प्रवाहलाइ छिटो, छरितो र सेवाग्राहीमुखी बनाउन निर्देशन

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाइ छिटो, छरितो र सेवाग्राहीमुखी बनाउन कर्मचारीलाइ निर्देशन दिएका छन् ।  

निजामती सेवा दिवसको अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्न निर्देशन दिएका हुन् । उनले हुने कामलाइ पनि कानुनका नाममा जनतालाइ दुःख दिने परम्परा अन्त्य गर्न पनि कर्मचारीलाई आग्रह गरे । 

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले छिट्टै विभिन्न तहमा १९ सय कर्मचारीको विज्ञापन खोल्ने पनि बताए । संघीय सरकारले हस्तान्तरण गरेको स्विकृति दरवन्दी अनुसार लुम्बिनी प्रदेश सरकार मातहत रहेका कार्यालयहरुमा ४ हजार ७८ जना कर्मचारीको दरवन्दी रहेकोमा हाल २१ सय ७८ जना मात्रै कर्मचारी कार्यरत रहेकाले रिक्त १९ सय पदका लागि छिट्टै लोक सेवा आयोग मार्फत विज्ञापन खोलिने बताएका हुन् । 

मुख्यमन्त्री आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै बर्षबाट लागु हुने पनि बताए । उनले कर्मचारी ऐन लागु नहुँदा कर्मचारीमा निरासा छाएको भन्दै कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन पारित भएपछि कर्मचारीको मनोवल बृद्धि हुने र कर्मचारीका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया