राष्ट्रपति चुनावपछि ट्रम्पविरुद्धको मुद्दामा सजाय तोकिने

एजेन्सी । पोर्न स्टार मुद्दामा दोषी ठहर भएका अमेरिकी रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चुनावपछि सजाय सुनाइने भएको छ । उनको मुद्दामा सजाय सुनाउने प्रक्रिया आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावसम्मका लागि स्थगन गरिएको छ ।

बीबीसीका अनुसार शुक्रबार न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय तोक्ने मिति नोभेम्बर २६ सम्मका लागि स्थगन गर्ने निर्णय गरेका हुन् । ट्रम्प रिपब्लिकन पार्टीबाट आगामी राष्ट्रपति चुनावका उम्मेदवार हुन् । ट्रम्पको मुद्दामा यही सेप्टेम्बर १८ मा सजाय तोक्ने निर्णय थियो । तर, ट्रम्पका वकिलहरूको प्रयासले राष्ट्रपति चुनावसम्मलाई त्यो प्रक्रिया स्थगन गरिएको हो । 

मे ३० मा अदालतले ट्रम्पलाई पोर्न स्टार स्टर्मी डेनियललाई मौन गराउन  पैसा तिरेको र चुनावी अभियानको क्रममा व्यापारिक रेकर्डहरू फ्रड गरेकोमा दोषी ठहर गरेको थियो। अमेरिकामा पूर्वराष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरेको यो पहिलोपटक हो ।

न्यूयोर्कमा करिब ६ हप्तासम्म चलेको सुनुवाइमा पूर्व राष्ट्रपतिलाई ३४ आरोपमा दोषी ठहर गरिएको थियो, यो मुद्दा उनी सन् २०१६ मा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुअघिको हो।

प्रतिक्रिया