आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ ।

सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी नेपाल र भारत  विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो ।

सनातनीहरूले भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवताको रुपमा पुज्ने गर्दछन् ।  गणेश भगवानलाई विद्या, वुद्धि, समृद्धि, र सौभाग्यको प्रतिक मानिन्छ । 
 

प्रतिक्रिया