सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने गरी काम गर्छौः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःस्थापित शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिनेतर्फ वर्तमान सरकार स्पष्ट रहेको बताएका छन् । 

सङ्क्रणकालीन न्यायसँग सम्बन्धित विषयमा शुक्रबार नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको मण्डलको १९ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपाली जनतालाई जातीय आधारमा विभाजित गरेर र सामाजिकरुपमा घृणा/द्वेष फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने स्पष्ट गरेका हुन् । 

प्रधानमन्त्री ओलीले आफू पहिलेदेखि नै इमान्दाररुपमा शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाग्न लागि परेको र अहिले पनि थप पहल गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक पारित गरेको बताए ।  उनले पीडितलाई केन्द्रमा राखेर राजनीतिक सहमति गरिएको बताए । 

आफू सशस्त्र द्वन्द्वकालमा सत्ता पक्ष वा विद्रोही पक्षमा नरहेकाले निष्पक्ष भएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लैजाने अठोटमा रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले यस प्रक्रियामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ आवश्यक भएको बताए ।

संयोजक डा. भट्टराईले दुई ठूला दलको सरकार बनेकाले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउने अवसर भएकाले यसमा आफूहरुको साथ रहने उल्लेख गरे । 

सो अवसरमा उक्त पार्टीले ती विधेयक पारित भएकामा स्वागत गर्दै आगामी प्रक्रियामा बृहत् सहमतिका साथ सत्यको अन्वेशण गर्न आग्रह गरेको छ । सो पार्टीले आयोग गठन गर्दा राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा स्वीकार्य व्यक्तिलाई छनोट गर्न, आयोगमा पीडितको प्रतिनिधि राख्न र परिपूरणका विधि र मापदण्डबारे स्पष्ट हुनुपर्ने लगायत माग राखेको थियो ।

प्रतिक्रिया