सरकारले करको दर घटाएर दायरा बढाउनुपर्छ: स्वर्णीम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपपसभापति डा. स्वर्णीम वाग्लेले सरकारले करको दर घटाएर दायरा बढाउनु पर्ने बताएका छन् ।

वीरगन्जमा शुक्रबार रास्वपा पर्साले आयोजना गरेको ‘आर्थिक मन्दी र अर्थ–राजनीतिक निकास’ विषयक अन्तरक्रियामा उपसभापति वाग्लेले कर दर घटाएर दायरा बढाउँदा राजश्व संकलन बढ्ने र अर्थतन्त्रमा सुधार आउने बताएका हुन् । उनले रास्वपा सत्तामा पुगेपछि करको दायरा बढाउने पनि बताए । 

उपसभापति वाग्लेले भारतसँगको खुल्ला सीमाका कारण अवैध निकासी–पैठारी हुँदा मुलुककै अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको भन्दै त्यसलाई रोक्न ध्यान दिनुपर्ने पनि स्पष्ट पारे । उपसभापति वाग्लेले तराई–मधेसका जिल्लामा सौर्य उर्जाको प्रचुर सम्भावना रहेकाले त्यसलाई राज्यले उपयोग गर्न सके देशकै अर्थतन्त्रमा कायापलट हुनसक्ने पनि बताए । 

कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीले करको दर बढाउनुको साटो करको दायरा बढाउन सरकारलाई सुझाव दिए । उनीहरुले निजी क्षेत्रले दिने सुझाव सत्तामा पुग्नेहरुले सुनेर पनि नसुनेझै गर्ने गरेको गुनासो समेत गरे । उद्योगी व्यवसायीहरुले खुल्लासीमाबाट भइरहेको अवैध ओसार–पसार नरोकिएसम्म उद्योग–व्यापार फस्टाउन नसक्ने भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह समेत गरे । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्षा अशोक टेमानी, पूर्वअध्यक्ष गणेश लाठ, उद्योगी जगदीश अग्रवाल लगायतले आ–आफ्नो धारणा राखेका थिए । यो खबर हाम्रा सहकर्मी नितेश कर्णले पठाएका हुन् ।
 

प्रतिक्रिया