एउटै नम्बर प्लेट राखेर चलाइएका पाँच वटा मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं  उपत्यका ट्राफिक प्रहरी कार्यालयले एउटै नम्बर  प्लेट राखेर चलाइएका पाँच वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। उजुरीका आधारमा चोरीका मोटरसाइकल खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले  दुई जनालाई पक्राउ गरी अनुसन्धान प्रकृया अघि बढाएको छ। 
  
शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका– २ घर भई कोटेश्वर बस्ने २८ वर्षका हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

खत्रीसँग बरामद भएको बुलेट मोटरसाईकल नेपालमा दर्ता नभएको जानकारीपश्चात थप अनुसन्धान गर्दै जाँदा सोहि नम्बरको अर्को पनि मोटरसाईकल पत्ता लागेको हो। मोटरसाईकलको खोजतलासमा निस्केको ट्राफिक प्रहरीको टोलीले मध्यबानेश्वर बस्दै आएका अछाम चौरपाटी– २ कै २५ वर्षीय प्रमोद कुँवरलाई समेत सोही नम्बरको ३५० सिसीको खैरो रंगको बुलेट मोटरसाईकलसहित नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको उक्त मोटरसाइकल काठमाडौँ स्थित रानीबारीबाट गत श्रावण २८ गते हराएको भनी रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए। नक्कली नम्बरप्लेट राखेर उनीहरुले सो मोटरसाइकल प्रयोग गरेका हुन्। 

सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकलसमेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि गाढा निलो रंगको १५० सिसीको एफजेड–एस मोटरसाइकलसमेत छाउनीबाट  बरामद भएको छ। अनुसन्धानको क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुंगाका उत्तमकुमार पराजुलीको रहेको  खुलेको छ। सो मोटरसाईकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा चोरी भएको थियो।
 


करिव एकमहिना अगाडी से ७ प ८५६२ नम्बर प्लेट नै भएको कालो रंगको यामाहा कम्पनीको १५५ सिसीको एमटी–१५ बेबारिसे अबस्थामा फेला पारेको थियो। अनुसन्धान गर्दै जाँदा बास्तबिक नम्बर बा प्र ०२–०२२ प ५०७८ भएको उक्त मोटरसाईकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निबेदन दिएका थिए।

चोरीमा संलग्नहरुले एउटा मोटरसाइकलको वास्तविक ब्लुबुक बनाई सोही नम्बर राखेर अन्य चार वटा चोरीका मोटरसाइकल प्रयोग गर्दै आएको खुलेको छ।

 

प्रतिक्रिया