नारायणगढ–मुग्लिन सडक पुन अवरुद्ध, सयौं सवारी साधन र यात्रु अलपत्र

मुलुकको मुख्य राजमार्ग नारायणगढ–मुग्लिन सडक पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाउने तयारी भइरहे पनि सडक कतिबेला खुल्छ भन्ने टुंगो नरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा गाडीको लामो लाइन छ । सडक खुलेको एकिन नभइ यात्रा शुरु नगर्न पनि प्रहरीको आग्रह छ ।पहिरामा विद्युतको तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने बताइएको छ । सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।  बाढी पहिरोका कारण मुग्लिन–नारायणगढसहित देशका पाँच वटा सडक पूर्ण रुपमा बन्द रहेका छन । १० वटा सडक एकतर्फी मात्रै सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । सडक विभागका अनुसार मेची राजमार्ग र तमोर करिडोरमा पर्ने पाँचथरको हेवाखोला क्षेत्रमा सडक बन्द छ । यस्तै, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको हाइटारमा र बेनी जोमसोम सडक अन्तर्गत म्याग्दीको तातोपानी क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध छ । यस्तै, तानसेन–रिडी–कोरला, डुम्रे–बेशीसहर–चामे, कोशी राजमार्गका रानी–विराटनगर–इटहरी–धरान–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथांका तथा तानसेन–रिडी–कोरला सडक एकतर्फी सञ्चालन भइरहेको छ ।त्यसैगरी, सिद्धार्थ राजमार्गको बेलहिया–भैरहवा–बुटवल–वर्तु–राम्दी–स्याङ्जा– पोखरा र कर्णाली राजमार्गको जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खेलाल–हिल्सा सडक एकतर्फी छ । सडक विभागले वर्षाको बेला सडक बन्द भए तत्काल खुलाउने तयारी गरेको भने पनि त्यसो हुन सकिरहेको छैन । पहाड र ठूलाठूला ढुंगा खस्दा सडक खुलाउन समस्या भइरहेको छ । सडक खुलाउनका लागि विभिन्न ठाउँमा दुई सय ४२ वटा उपकरणहरु तयारी अवस्था राखेको विभागको भनाइ छ । देशमा ८० वटा राजमार्ग छन् । यसमध्ये कतिपय राजमार्ग वर्षाको बेला सञ्चालन हुने अवस्थामा छैनन ।।
 

प्रतिक्रिया