तौलको सन्तुलन नमिल्दा सौर्य विमान खसेको समितिको प्रारम्भिक निष्कर्ष

काठमाडौं। सौर्य एअरलाइन्सको विमान दुर्घटना तौलको सन्तुलन नमिलेको कारण भएको प्रारम्भिक निष्कर्ष निस्केको छ । दुर्घटनाको छानबिन गर्न बनेको समितिले तौलको सन्तुलन नमिल्दा उड्नेबित्तिकै विमान खसेको निष्कर्ष निकालेको हो । तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको, सबैतिर तौलको सन्तुलन नमिलाएका कारण जहाजले टेकअफ गर्न साथ सामान सरेर सन्तुलन बिग्रिएको अध्ययनमा खुलेको छ।

साथै, विमानको इन्जिनमा कुनै खराबी नदेखिएको प्रतिवेदनमा उल्लेख छ । ब्यागेजसहित १८,१३२ किलो तौलसहित जहाजले टेकअफ गरेको थियो । जसमा थप २ हजार किलो इन्धन थियो ।

मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख छ । साउन ८ गते पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सिआरजे–२०० जहाज टेकअफ गर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको थियो भने पाइलट बाँच्न सफल भएका थिए ।

 
 

प्रतिक्रिया