फ्रान्सका नयाँ प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् गठन गर्न पहिलो चुनौती

एजेन्सी । फ्रान्सका नयाँ दक्षिणपन्थी प्रधानमन्त्री मिसेल बार्नियरले दुई महिनाको राजनीतिक गतिरोधपछि संसदमा बहुमत जुटाएर सक्षम सरकार बनाउन शुक्रबार सबै पक्षसँग परामर्श सुरु गरेका छन् । 

हालै युरोपेली सङ्घ (इयु) को ब्रेक्सिट वार्ताकारका रूपमा काम गरेका  ७३ वर्षीय पूर्वविदेशमन्त्री बार्नियर आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा वृद्ध प्रधानमन्त्री हुन् । 

आफूभन्दा आधा उमेरका मध्यमार्गी ३५ वर्षीय पूर्वप्रधानमन्त्री गेब्रियल अटालबाट पदभार ग्रहण गर्दै बार्नियरले आफ्नो नयाँ काम लिने वाचा गरेका छन् ।  अटाल मुलुकको पहिलो खुला समलैङ्गिक प्रधानमन्त्री थिए । 

नयाँ प्रधानमन्त्री बार्नियरले शिक्षा, सुरक्षा र अध्यागमन नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको भन्दै मुलुकको ‘वित्तीय ऋण’ मा सत्य बोल्न नडराउने बताए  ।

आफ्नो मध्यमार्गी गठबन्धनले आकस्मिक निर्वाचनमा संसदमा  सापेक्ष बहुमत गुमाएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले हप्तौँको गतिरोधपछि बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । 

युरोपेली निर्वाचनहरूमा अति दक्षिणपन्थीहरूले आफ्नो गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले जुनमा संसद् भङ्ग गर्दै निर्वाचन गराउने जोखिम उठाएका थिए । निर्वाचनमा वामपन्थी गठबन्धन फ्रान्सको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा उदायो तर उनीसँग बहुमतका लागि आवश्यक सिट थिएन । यसको सट्टा मरिन ले पेनको आप्रवासनविरोधी अति दक्षिणपन्थी नेसनल र्याली (आरएन) इयुको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र फ्रान्सको तल्लो सदनमा कुनै पनि विश्वासको प्रस्तावमा सबैभन्दा धेरै मतका साथ सबैभन्दा ठूलो पार्टी बन्यो । त्यसपछि तेस्रो स्थानमा म्याक्रोनको मध्यमार्गी समूह थियो । 

संसदमा  आरएनका सांसदहरूको नेतृत्व गर्नुहुने ले पेनले नयाँ मन्त्रिपरिषदमा आफ्नो पार्टी सहभागी नहुने बताए ।  यद्यपि बार्नियरलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे उनले संसद्सामु बार्नियरको पहिलो नीतिगत भाषणको प्रतीक्षा गर्ने बताए । 

लामो समयसम्म आफूलाई अति दक्षिणपन्थीविरुद्ध सुरक्षा कवचका रूपमा प्रस्तुत गरेर म्याक्रोनले ले पेनलाई वास्तविक रूपमा किङमेकर बनाएको आलोचकहरूले बताएका छन् । 

विशेषगरी वामपन्थीहरूले प्रधानमन्त्रीका रूपमा बार्नियरको मनोनयप्रति आपत्ति जनाएका छन् र सम्भवतः तल्लो सदनमा उनलाई हटाउन खोज्नेछन् । 
 

प्रतिक्रिया