निजी चिकित्सक सहित प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको न्यूयोर्क भ्रमण स्वीकृत

काठमाडौ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो । भ्रमण टोलीमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायत रहेका छन् । राष्ट्रसंघको महासभा भदौ २५ गतेदेखि असोज १२ गतेसम्म न्युयोर्कमा हुँदैछ । ओली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।
मन्त्रिपरिषद्को बैठकले दुग्ध विकास संस्थान डीडीसीलाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । भदौ १७ गते अर्थ मन्त्रालयले शर्तसहित ऋणका लागि सहमति दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानको बाँकी बक्यौताका लागि ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा काँस्य पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय पनि गरेको छ । बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त गरेको छ ।

प्रतिक्रिया