खाद्य सुरक्षा एवं पोषणमा सुधार ल्याउन सरकार प्रतिबद्ध: प्रधानमन्त्री  दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउने सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै उनले  दिगो विकासका लक्ष्यहरू प्राप्तिको लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउने प्रतिबद्धतासमेत जनाएका हुन । प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रिय स्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार गरिरहेको उल्लेख छ । त्यस्तै अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ सरकारले कार्यान्वयन गरिरहेको उनले बताएका छन । सरकारका प्रयासका बाबजुद बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात बर्सेनि बढ्दै गएकोमा प्रधानमन्त्री दाहालले चिन्ता प्रकट गरेका छन । उनले पधान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशवासीहरुमा आह्वान गरेका छन । जलवायु अनुकूलित धानका जातहरु, उत्पादन प्रविधिहरुको विकास र अवलम्बनमार्फत् दिगो रुपमा धान उत्पादन बढाउन सकिने उनको भनाइ छ । जलवायु परिवर्तनका कारण सुख्खा खडेरी, अतिवृष्टि, असमयको वर्षा, बाढी पहिरो, रोग तथा किराको प्रकोप आदि बढ्दा धान उत्पादनमा नकारात्मक असर बढ्दै गएकाले जलवायु अनुकूलका धानका जात र खेती प्रविधिको विकास गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।।
 

प्रतिक्रिया