भेडाका बथानले सेताम्य हुन थाले बाग्लुङको बुकी पाटन क्षेत्र

बाग्लुङ । बाग्लुङको बुकी पाटन क्षेत्र यति बेला भेडाका बथानले सेताम्य भएका छन् । गत जेठ पहिलो सातादेखि भेडा लिएर उक्लिन सुरु गरेका गोठाला असोज लागेपछि मात्रै बेसी झर्ने छन् । ढोरपाटन नगरपालिका–६ र ९ मा पर्ने बुकी क्षेत्र भेडाका लागि पोषणयुक्त घाँस पाइने हुँदा हरेक वर्ष गोठाला बुकी जाने गर्छन् । 
बुकीमा भेटिएका गोठलाहरु आफ्नो पालामा पढ्ने लेख्ने चलन नभएको हुँदा सानैदेखि भेडा गोठालो बनेको भन्दै अहिलेका नयाँ पुस्ताले पशुपालनमा चासो नदिएको गुनासो गर्छन ।  
पश्चिम बागलुङका किसानको एकै परिवारले ५० देखि दुई हजारसम्म भेडा पालन गर्ने हुँदा लेकबेसी गरेर हुकाउनुनु पर्ने बाध्यता छ । यतिवेला सयौँ गोठालाको हजारौँ संख्यामा भेडाबाख्रा, गाईभैँसीले बुकी पाटननै ढाकिएका हुन्छन् । बाह्रै महिना एकै ठाउँ राख्दा घाँसको अभाव हुने हुँदा वर्षेनी हिउँदमा बेसी गाउँ र बर्खामा लेक बुकी क्षेत्रमा लैजाने गरेका हुन् । ढोरपाटनमा दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुने लगायत थुप्रै बुकी क्षेत्र पर्छन् । यि बुकी क्षेत्रमा यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठालाहरु अस्थायी टहरो बनाएर बस्दै आएका छन् । जेठ र असार महिनामा बुकी उक्लिएका गोठाला अबको केही दिनमै बेसी झर्छन् । बुकीमा चिसो बढ्ने र पशुचौपाया बिरामी पर्ने हुँदा असोज लाग्दा बित्तिकै गाउँका खर्कहरुमा झर्ने उनीहरुको प्रचलन छ ।

प्रतिक्रिया