सिरहामा करोडौं लागतमा बनेकाे खानेपानी आयोजना अलपत्रमा, शुद्ध खानेपानीबाट स्थानीय बन्चित

शिव दयाल यादव 

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–१२ तिलासीमा करोडौं लागतमा बनेका खानेपानी तथा सरसफाइ आयोजना अलपत्रमा परेका छन् । 

पाँच वर्षभित्र १२ सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित सुरु गरिएको आयोजना एक दशक बित्न लाग्दा पनि थप बजेट नपाठाउँदा काम सुरु हुन नसकेको हो । 

पञ्चवर्षीय योजनासहित २०७१ देखि सुरु भएको उक्त खानेपानी आयोजना  वर्ष बित्दासमेत पूरा नभएको हो । खानेपानी तथा सरफाइ डिभिजन कार्यालय लहानले ६ करोड ५० लाख रुपैयाँमा आयोजना बनाउन सुरु गरेको थियो ।

डिभिजन कार्यालयले हालसम्म २ करोड रुपैयाँमा दुईवटा बोर्डिङ गाडेर ट्यांकी बनाएर बाँकी काम अलपत्र छाडेको छ । समयमै पूर्णता दिन बेल्हा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुशेश्वर ठाकुरले डिभिजन कार्यालयमा थुप्रै पटक धाए । यसअवधिमा थुप्रै डिभिजन प्रमुख पनि आए, गए । तर, योजना अझै अपूरो अलपत्र हुँदा उनी वाक्क छन् । ठाकुर भन्छन, ‘हामी अझै कहिले शुद्ध खानेपानी खान पाउन हो कि होईन ठेकान छैन । त्यतिबेला ५ वर्षमै घरघरमा धारामा पानी आउँछ भने’ ।

स्थानीय ओम प्रकाश शर्मा भन्छन, ‘सरकारले लगाएको करोडौं लगानी खेर गइरहेको अवस्था छ । तर, सरकारले खासै ध्यान नदिदा लगभग ८/१० गाउँका बासिन्दा स्व्चछ खानेपानी बाट बन्चित छन्’।

यस्तै, स्थानीय  ध्रुब कुमार शर्मा भन्छन,  ‘सरकारले पनि मतलब गरेको छैन’ । उनले सरकारले मतलब नराख्दा यो खण्डहरमा परिणत भएको गुनासो पोखे । खानेपानी तथा सरफाइ डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ यादवले संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना भएकाले उचित बजेट नदिँदा पूर्णता पाउन नसकेको बताए । 

‘म ढिलो जिम्मेबारीमा आएको कारण भएको बजेट पनि कार्यान्वयन गराउन सकिनँ’, उनले भने, ‘उचित बजेट विनियोजन नगर्दासम्म पूर्णता पाउन गाह्रो छ ।’

प्रतिक्रिया