मनसुन सक्रिय हुँदा आज र भोलि देशभर पानी पर्ने सम्भावना

 

मनसुन सक्रिय भएकाले आज र भोलि देशभर नै पानी पर्ने सम्भावना छ । लगातारजसो झरी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भिरालो जमिन र नदी, खोला आसपास बस्नेहरुलाई सतर्कता अपनाउन विभागको आग्रह छ ।  देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । घर बाहिर निस्कँदा छाता, रेनकोटलगायत ओडो बोक्न, यात्रामा निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन पनि विभागले आग्रह गरेको छ । गएराति केही ठाउँमा भारी बर्षा समेत भएको छ । पाल्पाको तानसेनमा पछिल्लो एक घण्टामा ३२ दशमलव ४ मिलिमिटर पानी परेको छ । १० देखि ५० मिलिमिटरलाई मध्यम, ५० देखि १ सय मिलिमिटरलाई ठूलो र एक सयभन्दा बढी मिलिमिटर वर्षा हुनुलाई अति ठूलो वर्षा मानिन्छ । लुम्बिनी प्रदेशसहित कोशी, बाग्मतीका एक÷दुई ठाउँमा ठूलो पानी परेको छ । आज पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो र केही ठाउँमा अति ठूलो वर्षाको अनुमान छ । गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिएको मौसमविद्को भनाइ छ । 

प्रतिक्रिया