आज हरितालिका तीज मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दू नारीको महान् पर्व हरितालिका तीज आज (शुक्रबार) महादेवको पूजा आराधना गरी मनाइँदैछ । 

भाद्र शुक्ल तृतीयामा व्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । तिजका अवसरमा पशुपतिनाथलगायत मुख्य मन्दिरहरु बिहान तीन बजेदेखि नै खुलेको छ । मन्दिर दर्शनका लागि पशुपतिनाथमा चार वटा लाइन व्यवस्था गरिएको छ । 

व्रत बसेका महिलाको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवम् दर्शनका लागि भीड लाग्ने गर्छ । मन्दिर परिसरमै नाच गान गरी व्रतालु महिलाले रमाइलो गर्छन् । महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई लिने गर्दछन् । 

सत्ययुगमा आजैको दिन निराहार व्रत बसेर पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ । 

बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज समापन हुने गर्दछ ।

प्रतिक्रिया