आज असार पन्ध्र, विभिन्न कार्यक्रमका साथ धान दिवस मनाइँदै
‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि: धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका २० औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । धानको विविध महत्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो । नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रुपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दहि चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरुवाती दिनको रुपमा लिइन्छ । यस दिनलाई विगत १८ वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो । यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । त्यसैले हरेक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरि धान दिवस मनाइने गरिन्छ । सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । त्यसै गरि नेपालमा पनि कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको हो । सरकारले असार १५ लाई दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधि आम किसान माझ अझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ । नेपाली संस्कृति अनुसार असार १५ मा दहि चिउरा खाने प्रचलन छ । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा लिने गरिन्छ । वर्षा याममा हिलाम्य भएको शरीरमा दहि खाँदा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । धान दिवसकै अवसर पारेर पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइं महोत्सव हुँदै आएको छ । यस वर्ष मध्य असारसम्म समयमै पानी नपर्दा ९ प्रतिशत मात्रै रोपाइ भएको छ । गत वर्षको असार दोस्रो सातासम्म देशभर २५ प्रतिशत रोपाइँ भइसकेको भएपनि यो बर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको हो । नेपालमा कूल खेतीयोग्य ३० लाख हेक्टर जमिनमध्ये १५ लाख हेक्टरमा मात्र धान रोपाई हुन्छ । त्योमध्ये बाह्रै महिना सिँचाइ हुने जमिन १० लाख हेक्टर अर्थात् ३० प्रतिशत मात्रै छ । नेपालमा बार्षिक ५६ लाख मेट्रिक टन उत्पादन हुने गर्दछ ।
प्रतिक्रिया