अभिभावकको अनुमतिमा अध्ययनका लागि रुसमा विद्यार्थी पठाउने सरकारको तयारी

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रुस जान लागेका  विद्यार्थीलाई अभिभावकको अनुमतिमा मात्र जान दिने बताएकी छन्।

बिहीबार मन्त्रालयमा रुसमा छात्रवृत्तिका लागि जान लागेका विद्यार्थी तथा अभिभावकसँगको छलफलमा उनले अभिभावकले आफ्नो छोराछोरी जानका लागि मन्त्रालयमा लिखित अनुमति र प्रतिबद्धता जनाए मात्र पठाउन सकिने बताएकी हुन्।

‘अहिले रुस र युक्रेनको युद्ध चलिरहेको छ । यस्तो अवस्थामा अभिभावकले मन्त्रालयसँग आफ्ना छोराछोरी जानका लागि अध्ययन अनुमतिपत्र माग्न आउनुहुन्छ भने हामी प्रतिबद्धता जनाएर पठाउन तयार छौँ’, उनले भने, ‘दुई देशबीच युद्ध चलिरहेको बेला हामीले अध्ययन अनुमतिपत्र दिन सकेका थिएनौँ। परराष्ट्र मन्त्रालयले पनि जानका लागि स्वीकृत दिएपछि विद्यार्थीलाई अभिभावकको सहमतिमा पठाउछौँ।’

मन्त्रालयले ती विद्यार्थी पढ्न जाने ठाउँको स्थितिबारे परराष्ट्र मन्त्रायलसँग बुझेर मात्र अध्ययन अनुमति पत्र दिन लागेको हो। मन्त्री भट्टराईले विदेशभन्दा नेपालकै विश्वविद्यालयको शिक्षा सुधार गर्न आफू लागि परेको उल्लेख गरिन्। उनले १३ वटै विश्वविद्यालयको एउटै शैक्षिक पात्रो बनाएर समयमा भर्ना, पढाइ र परीक्षाफल प्रकाशित गर्न थालेको जानकारी दिइन्। 

अध्ययनका लागि रसिया जाने तयारीमा रहेका ४० जना विद्यार्थीको अध्ययन अनुमति पत्र ९एनओसी० रोकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरूको एनओसी रोकेको हो ।

रसिया र युक्रेनबिचको युद्धका कारण असुरक्षाको कारण देखाउदै सरकारले एनओसी बन्द गरेको थियो ।  नेपालबाट विभिन्न १३ वटा क्षेत्रमा अध्ययनका लागि विद्यार्थीहरू रसिया पढ्न जाने लागेका हुन् । तर, युद्धका कारण देखाउँदै शिक्षा मन्त्रालयले एनओसी दिएको छैन ।

शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई विद्यार्थीहरू पढ्न जान लागेको क्षेत्रमा सुरक्षा जोखिम बुझ्न पठाएको थियो । परराष्ट्रले आफ्नो संयन्त्रमार्फत विद्यार्थीहरू पढ्न जान लागेको विश्वविद्यालय तथा कलेजहरूमा सुरक्षा जोखिम नरहेको रिपोर्ट दिएको छ ।

प्रतिक्रिया