७ वटा सहकारीलाई थप अनुसन्धान र कारवाहीका लागि काठमाडौं महानगरको पत्राचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सात वटा सहकारीलाई अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्र पठाएको छ ।

महानगरले अनुसन्धानका लागि लेखी पठाएका सहकारीहरूमा ६ वटा बचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारी छन् । यसमा बचत तथा ऋणतर्फ सुमेरु, स्क्वायर, रुरल, सत्कार, महाबौद्ध र नमो हारती सहकारी छन् । 

यस्तै, आधारभूत बहुउद्देश्यीय माथि पनि अनुसन्धान गर्न महानगरले भनेको छ । बचत संकलन, संकलित रकम परिचालन, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकोले ब्युरोमा पठाइएको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार सञ्चालनमा भएका सहकारीहरूमा स्वनियमको पालना, लोकतान्त्रिक नियन्त्रण प्रणाली, एकाधिकार, लगानीका क्षेत्र, सिद्धान्तको अनुसरण जस्ता पक्षमा कमजोरी देखिएको छ । 

उद्देश्यविपरीत लगानी, क्षेत्राधिकार बाहिरको बचत स्वीकार तथा लगानी, सदस्यभन्दा बाहिरको लगानी, एकाघर व्यक्ति वा एक व्यक्ति नियमविपरीत सञ्चालक भएर लगानी लिएको महानगरको अध्ययनले देखाएपछि कारवाहीका लागि सिफारिस गरिएको बताइएको छ ।  ४० वटा सहकारीको अनुगमन गर्दा सात वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि पत्र पठाएको जनाएको छ ।

अनुगमन गरिएकामध्ये एउटाको कार्य क्षेत्र प्रदेश देखिएकोले सक्कल फाइल प्रदेश सरकारलाई पठाइएको छ । काठमाडौं महानगर सहकारी ऐनमा अनियमितता गर्नेलाई कसुर हेरी अधिकतम पाँच लाख रुपैयाँसम्म जरिवाना र अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया