एक महिना अघि देखिको भोज : तीज संस्कृति कि बिकृति ?

तीज हिन्दू नेपाली नारीहरुले मनाउने महत्वपूर्ण  पर्व हो । भारतका केही स्थानमा पनि यो पर्व मनाउने गरिन्छ । विश्वभर जहाँ रहेपनि नेपाली महिलाहरुले यो पर्वलाई विशेष रुपले मनाउने गर्छन ।

२०८१ सालको तीज अन्तर्गत आज बिहिबार दर खाने दिन परेको छ । आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा र संस्कृति हो । तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान गरेर मनोरञ्जन गर्छन् भने अविवाहिताहरुले राम्रो वर पाईयोस भन्ने  आशा राखेर ब्रत बस्ने गरेका छन् । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । यसमा भगवान महादेवको पूजा आरधना गरिन्छ । अहिले तीज सबै जात र समुदायका लागि साझा पर्वको रुपमा विकसित हुँदैछ । समग्रमा यसले हाम्रो सांस्कृतिक पहिचानलाई बोकेको छ । 

तर पछिल्लो समय तीजमा संस्कृति भन्दा पनि बिकृति बढी देखिन थालेको छ । तीज आउनु एक महिना अघि देखिनै तीजका नाममा बिभिन्न पार्टी प्यालेसमा भोज गर्ने,अरुलाई देखाउनका लागि गर गहनाको प्रदर्शन गर्ने र परम्परालाई लत्याउँदै भड्किलो र खर्चिलो पर्व बनाउन थालिएको छ । तीजका नाममा एक महिना अघि देखिको भड्किलो र खर्चिलो भोजले परम्परागत रुपमा दर खाने संस्कृतिलाई मेट्न खोज्दैछ र समाजमा बिकृति मौलाउँदै जाँदा तीजको महत्व र अस्तित्वमाथि नै संकट पैदा हुन सक्छ । 

तीजमा माइतीले छोरी/चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा दर खाने –बस्ने चलन रहेको छ । दरमा ठाउँअनुसार विभिन्न मिठा–मिठा परिकार साथै खिर, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ। तर पछिल्लो समय पार्टी प्यालेसमा गएर मासु, भात र कतिपयले त मदिरा पनि पिउने गरेको पाइन्छ । त्यस्तै उच्छृङ्खल र छाडा गीत, सङ्गीत पनि प्रस्तुत हुने गरेका छन् ।  सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडेर पराईघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कम गर्ने एउटा अवसरको रूपमा तीज पर्वको  महत्व रहेको छ। तीजको  दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी (महादेव) पति पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयकी छोरी पार्वतीले शिवजी पति पाउँ भनी १ सय वर्षसम्म  पानी पनि नपिइकन निराहार व्रत बसेपछि पार्वतीको कठोर ब्रतका कारण  कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह भएको र  त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

अहिले सहर मात्रै होइन सहरको सिको गर्दै गाउँ घर तिर पनि तीज पर्व भड्किलो र उत्ताउलो बन्दै गएको देखिन्छ । निम्न आय भएका मानिसहरुका लागि तीज हर्ष न विस्मातको पर्व बन्दै गएको छ । उनीहरु अरुको सिको गर्दे खर्च गर्न सक्ने अवस्थामा छैनन् । अरुको सिको गर्दा चुर्लुम्म ऋणमा डुब्नु पर्ने अवस्था छ । कोरोना काल पछिको थलिएको अर्थतन्त्र लयमा आउन सकेको छैन । मानिसको गोजी रित्तो छ ।  धनी मान्छेको रवाफ र भड्किलो हाउ भाउले गरिव बर्ग मारमा परेको छ । 

तीज पारिवारिक भेटघाट, एकता, सद्भावको विकास गराउने, वर्षभरको दुःख, पीडा, वेदनाबाट मुक्त भएर अघि बढ्नका लागि नयाँ उर्जाको सञ्चार गराउने पर्व हो । पछिल्ला दिनमा देखिएका केही बिकृत सोच, पात्र र प्रवृत्तिहरुले तीज पर्व पनि बिकृत र बदनाम बन्न थालेको छ ।बदलिँदो समयलाई बहाना बनाएर तीजको मौलिकतामा असर पार्ने प्रबृतिको अन्त्य हुनुपर्छ । तीज हुने खाने परिवारले मात्रै होइन गरिवले पनि मनाउने अवस्था बन्नुपर्छ । आर्थिक दम्भ देखाउने माध्यम चाड पर्व बन्नु हुँदैन । 
 

प्रतिक्रिया