बन्चरेडाँडा ल्यान्डफिल साइटमा सिसिटिभीबाट निगरानी गरिने

काठमाडौं । उपत्यकाको फोहोरमैला व्यवस्थापन र ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ । काठमाडौंको फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सिमाना बञ्चरेडाँडामा सीसीटीभी क्यामरा मार्फत निगरानी गरिने भएको हो । काठमाडौं महानगरको संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो । 

क्यामराबाट प्राप्त दृश्यहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ । साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएको छ ।  

वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार ९ वटा क्यामराबाट साइटको निगरानी गर्न थालिएको छ । पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन ९एएनपीआर० क्यामरा हुन् । 
‘यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ। यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ। नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ,’ सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले भने।

प्रतिक्रिया