आवधिक निर्वाचनबाट राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनमा सहभागिता हुन नेपाल आएका मञ्चका सदस्य मुलुकहरुका  प्रमुख निर्वाचन आयुक्तहरूले शीष्टचार भेट गरेका छन्। 

भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने बताएका छन् । राष्ट्रपति पौडेलले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा पजि जोड दिएका राष्ट्रपति कार्यालयले जनाएको छ  । 

राष्ट्रपति पौडेलले  सम्मेलनले दक्षिण एशियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना पनि दिए ।

राष्ट्रपति पौडेलले भने–‘समग्र दक्षिण एशिया क्षेत्रमा स्वच्छ, पारदर्शी र विश्वसनीय निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि यस संस्थामार्फत यहाँहरुको अमूल्य योगदान निरन्तररुपमा रहनेमा म विश्वस्त छु ।’ 

राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरुसँग यस संस्थाको साझा उद्देश्यहरु प्राप्त गर्न र चुनौतिहरु विरुद्ध सामूहिक रुपमा सामना गर्नका लागि आपसी सहयोग र सहकार्यलाई अझ सुदृद्ध बनाउन नेपाल प्रतिवद्ध रहने पनि स्पष्ट पारेका छन् । 

सो क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
 

प्रतिक्रिया